मापसे गर्ने चालकमाथि मुद्दा
धादिङ, ९ माघ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको अकालमा मृत्यु तथा ३२ भन्दा बढी घाइते भएका थिए ।
बुधबार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, यातायात व्यवसायी, नागरिक समाज सहितको सर्वपक्षीय बैठकमा सो सहमति भएको थियो । बैठकले सहमतिलाई पालन गराउन प्रभावकारी अनुगमन समेत गर्ने निर्णय समेत गरेकोे छ ।
सिटभन्दा बढी यात्रु चढाउने तथा मालबाहाक सवारीले यात्रु चढाउने गरेमा जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी कारवाही गर्ने सहमति बैठकमा भएको छ ।
बीमा नभएका सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाउने, बिलबुकमा प्रयोजन भनिएको अनुसार सवारी सञ्चालन गर्ने, प्रदूषण पास नभएका सवारी सञ्चालनमा रोक लगाउने, सामान ढुवानी गर्दा सवारी साधनको बाहिर निस्कने गरी सामग्री राख्न नपाइने निर्णय बैठकले गरेको छ ।
ट्राफिक प्रहरीले सवारी चालक र यात्रुका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, टाइमकार्ड व्यवस्था गर्ने, मापसे परीक्षण गर्ने, रातिका लागि विशेष साङ्केतिक बोर्डहरुको व्यवस्थापन गर्ने, यात्रु सङ्ख्याभन्दा बढी यात्रु राखेमा कारवाही गर्ने निर्णय गरेको छ ।
