Logo

सार्वजनिक विदा सङ्घीय कार्यालयहरुमा लागू नहुने



काठमाडौं, १० माघ । वाग्मती प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । तामाङ समुदायको सोनाम ल्होछारको अवसरमा वाग्मती प्रदेश सरकारले प्रदेशमा बिदा दिएको हो ।

तर यो विदा काठमाण्डौ उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरका सङ्घीय कार्यालयहरुमा भने लागू नहुने गृह मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यका बाहिर भने प्रदेश तथा पालिकाले दिने बिदा सबै कार्यालयमा लागू हुन्छ ।

गएको वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले दिएको बिदा काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लाका सङ्घीय कार्यालयहरुमा लागू नहुने निर्णय गरेको थियो ।

मन्त्रालयहरु, जिल्ला प्रशासन कार्यालय, अदालत, प्रहरी कार्यालय, हुलाक, कारागार, सरकारी वकिलको कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला निर्वाचन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय लगायतका कार्यालयहरु सङ्घअन्तर्गत रहेका छन् भने पालिका तथा पालिकाअन्तर्गतका अरु कार्यालय र विद्यालय लगायत प्रदेशअन्तर्गत रहेका छन् ।

काठमाण्डौ उपत्यकाका केही विद्यालयमा आज सार्वजनिक बिदा दिइएको छ भने केहीमा भने बिदा दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्