Logo

न्यायाधीश फुयाँलले अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्ने



काठमाडौं, १२ माघ । सभामुखका उम्मेदवार अग्नि सापकोटालाई पक्राउ गर्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आइतबार सुनुवाइ नहुने भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटको सुनुवाइका लागि न्यायाधीश हरि फुयाँलको इजलासमा परेकोमा उनले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबार नहुने भएको हो ।

न्यायाधीश हुनुअघि फुयाँलले नै सापकोटाको मुद्दामा पक्षबाट बहस गरेकाले उनको इजलासमा सुनुवाइ हुन नमिल्ने भएको हो । सापकोटालाई सभामुख बनाउन लागिएको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीका मुख्य सल्लाहकार सुशिल प्याकुरेलले पदबाट राजिनामा दिएको छ ।

यसैबीच प्रतिनिधि सभाको नयाँ सभामुख चयन आइतबार हुँदैछ । दिउँसो ३ बजेपछि बोलाइएको प्रतिनिधि सभाको बैठकले नयाँ सभामुख चयन गर्नेछ । सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्र उम्मेदवारी परेकाले उनी सभामुख बन्ने निश्चित जस्तै छ । आइतबारको बैठकले प्रक्रिया पूरा गरी उहाँलाई सभामुखमा निर्विरोध चयन भएको घोषणा गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।

आइतबारको बैठकमा प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारीको प्रस्ताव पेस गर्ने र प्रस्तावमा समर्थकहरु नेकपाका देव गुरुङ र ओनसरी घर्ती तथा राजपाका लक्ष्मणलाल कर्णले समर्थन गर्नेछ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेपछि सत्तारुढ नेकपाले उम्मेदवार चयन गर्न नसक्दा हिउँदे अधिवेशन सुरु भएको झण्डै डेढ महिनासम्म पनि प्रतिनिधि सभाले सभामुख पाउन सकेको छैन ।

सापकोटाको सपथ ग्रहण राष्ट्रपति कार्यालयमा आइतबार नै गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्