सरकारी एम्बुलेन्समा गाँजा तस्करी गर्ने ३ जना पक्राउ
हेटौंडा, १२ माघ । सरकारबाट अनुदानमा प्राप्त स्वास्थ्य चौकीको एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने ३ जना पक्राउ परेका छन् ।
मकवानपुरको नेवारपानीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी गर्ने ३ जनालाई पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानी नजिकै प्रहरीले एम्बुलेन्स चेक गर्ने क्रममा गाँजा बरामद गरेपछि एम्बुलेन्सले बिरामी बोक्ने आडमा गाँजा तस्करी गरिरहेको रहस्य भेटिएको हो। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार एम्बुलेन्समा गाँजा बोकेर लगिदैँ छ भन्ने सूचनाका आधारमा जाँच गर्ने क्रममा क्रममा ३० किलो ६०० ग्राम गाँजा बरामद भएको हो।
प्रहरीका अनुसार एम्बुलेन्समा लुकाएर ल्याएको तीन वटा झोलाभित्र छ वटा पोकामा सो गाँजा बरामद भएको हो। साथमा ९१ हजार नेपाली रूपैयाँ र दुई हजार २०० भारतीय रूपैयाँसमेत बरामद भएको छ। ११ माघ साँझ ७ बजे ईलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी नायव निरीक्षक राजेशकुमार यादवको टोलीले गाँजा बरामद गरेको हो।
प्रहरीले एम्बुलेन्स चालक रौतहटको डुमरीया नगरपालिका- ९ बस्ने ३९ वर्षीय महमद खलिद, रौतहट डुमरीया नगरपालिका–४ का १९ वर्षीय अशोक कुमार, भारत बिहार मोतिहारी जिल्ला बसन्तपुर बस्ने २२ वर्षीय बिनोद सहनीलाई एम्बुलेन्ससहित नियन्त्रणमा लिइएको छ।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत मकवानपुरबाट अनुसन्धानका लागि म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।
