नक्कली भ्याट बिल बनाउने तीन जनाविरुद्ध मुद्दा
काठमाडौं, १३ माघ । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिलविजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागका अनुसार रेजिङ इन्टरनेशनका सञ्चालक सञ्जिव मास्केले नक्कली बिलविजक तयार पारी १४ करोड ८७ लाख बराबरको राजश्व चुहावट गरेको भेटिएको हो ।
विभागले मास्केविरुद्ध बिगोको दोब्बर जरिवाना सहित तीन वर्ष कैदको मागदाबी गरेको छ । वस्तु तथा सेवा नै खरिद नगरी नक्कली भ्याट बिल बनाइ भ्याट र आयकरसमेत छली गरेको पाइएको छ । विभागका अनुसार मास्केले चार करोड ३२ लाख ६९ हजार २८३ बराबरको भ्याट तथा १० करोड ५४ लाख ३९ हजार ५९५ बराबरको राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।
यस्तै विभागले हैटौँडा उपमहानगरपालिका–२ मा रहेको अनुमान कन्स्ट्रक्सनका सञ्चालक शालिकराम न्यौपानेसमेत दुई जनाले आठ करोड ६२ लाख बराबरको नक्कली भ्याट बिल बनाइ राजश्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार उक्त कन्स्ट्रक्सनका सञ्चालक न्यौपाने र कर्मचारी विश्वराज सुवेदीले दुई करोड ५० लाख १४ हजार १९८ बराबर भ्याट बिल र छ करोड १२ लाख चार हजार ६०२ बराबरको आयकर चहुावट गरेको खुलेको हो । उनीहरुले आठ करोड ६२ लाख १८ हजार ८०० बराबरको राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ । विभागले बिगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैदको माग गर्दै आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
विभागले पछिल्ला दिनमा नक्कली भ्याट बिल बनाउने र आयकर छली गर्ने विरुद्ध आक्रामकरुपमा कारवाही शुरु गरेको छ । नक्कली भ्याट बिल बनाउने र आयकर छल्नेमाथि मिहिनरुपमा अध्ययन गर्दै धमाधम मुद्दा दायर गरिरहेको विभागले जनाएको छ ।
