वडा सदस्यले मागे सुविधासहित ६० प्रतिशत बजेट
रौतहट, १३ माघ । गढीमाई नगरपालिकाका वडा सदस्यहरूले नगरको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले विभिन्न सुविधासहित ६० प्रतिशत बजेट माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
नगरपालिकाका हरेक वडामा हुने विकास निर्माणका लागि छुट्ट्याइने बजेटको ४० प्रतिशत वडाध्यक्ष र बाँकी चारजना सदस्यले भागबन्डाका आधारमा बराबरी खर्च गर्न पाउने नियम बनाउन माग समेत गरे । नगरपालिकाका निमित्त कार्यालय प्रमुख नागेन्द्रप्रसाद यादवलाई आइतबार बुझाइएको ज्ञापनपत्रमा वडासदस्यहरूले अतिथि सत्कारका लागि मासिक २० हजार रुपैयाँ नगद पाउनुपर्ने माग राखेका छन् । त्यसैगरी हरेक वडा सदस्यलाई मोटरसाइकल र मासिक २० लिटर पेट्रोल उपलब्ध गराउनुपर्ने माग पनि गरिएको छ ।
नगरपालिकाका मेयर, उपमेयर तथा कार्यालय प्रमुखले अनेक किसिमको सुविधा प्राप्त गरिरहेको तर आफूहरू पूर्णतः सुविधा वञ्चित रहेको बताउँदै वडा सदस्यहरुले आफूहरूले पनि त्यस्ता सुविधा पाउनुपर्ने तर्क गरे । वडा कार्यालयमार्फत खर्च हुने बजेटमा वडाध्यक्षले एकलौटी गरिरहेको दाबी गर्दै त्यसमा सबै वडा सदस्यको हस्ताक्षरको व्यवस्था हुनुपर्ने माग पनि गरिएको छ । विगतमा नगर प्रमुख र कार्यालय प्रमुखले गरेका सम्पूर्ण खर्चको हिसाबकिताब पनि वडा सदस्यसमक्ष प्रस्तुत गर्नुपर्ने माग उनीहरूको छ ।
वडा सदस्यहरूले ज्ञापनपत्रमा प्रस्तुत गरेको माग सात दिनभित्र पूरा गर्नुपर्ने माग गरेका छन् । तोकिएको समयभित्र माग पूरा नभए आन्दोलन गर्ने चेतावनी पनि ज्ञापनपत्रमा दिइएको छ । वडा सदस्यहरूले आफ्नो माग पूरा गराउन चरणबद्ध आन्दोलन गर्दै कार्यालयमा तालाबन्दी गर्नेसम्मको कार्यक्रम तय गरेका छन् ।
वडा सदस्यहरूको माग र आन्दोलनको विषयमा निर्णय लिन नेवालाल राउतको नेतृत्वमा नौ सदस्यीय समिति निर्माण पनि गरेका छन् । नगरपालिकाको आफ्नै स्रोतको ठूलो बजेट रहेको र त्यसमा व्यापक अनियमितता भएको आरोप लगाउँदै हिसाबकिताब लिएर केही समयमै सार्वजनिक गर्ने जानकारी पनि वडा सदस्यहरूले गराए ।
