Logo

जातीय विभेदको कसुरमा २५ हजार क्षतिपूर्ति र १० हजार जरिबाना



दैलेख, १४ माघ । दैलेख जिल्ला अदालतले नारायण नगरपालिका १० भवानीकी २४ वर्षीया राजकुमारी न्यौपानेलाई जातीय भेदभावको कसुरमा १० हजार रुपैयाँ जरिबाना र पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको एकल इजलासले गएको माघ १३ गते यो फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए ।

गएको वैशाख ११ गते दिउँसो सार्वजनिक धारामा पानी भर्ने क्रममा प्लास्टिकको जर्किन छोइएको भन्दै ३५ वर्षीया लक्षिमा सुनारलाई आरोपित न्यौपानेले टाउकोमा हँसिया प्रहार गरेपछि उपचारका लागि नेपालगञ्ज लगिएको थियो ।

घटना लगत्तै भागेकी आरोपित न्यौपानेलाई चार महिनापछि सुर्खेतमा आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले गएको साउन २८ गते पक्राउ गरेको थियो । प्रहरीले दुई हप्ता हिरासतमा राखि अनुसन्धान सकेर भदौ ११ गते जिल्ला अदालतमा मुद्दा पेस गरेको थियो ।

प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस भएको जातीय भेदभाव तथा छुवाछुत मुद्दामा अदालतले आरोपित न्यौपानेलाई ३० हजार रुपैयाँ धरौटीमा छोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्