Logo

१० युनिटभन्दा कम बत्ती बाल्नेलाई निःशुल्क



काठमाडौं, १४ माघ । विद्युत प्राधिकरणले १० युनिटभन्दा कम विद्युत खपत गर्नेका लागि निःशुल्क दिने बताएको छ ।

प्राधिकरणले प्रस्ताव गरेको नयाँ दरअनुसार प्रतिमहिना १० युनिटभन्दा कम खपत गर्ने ग्राहकका लागि निःशुल्क दिने बताइएको हो। यस्ता ग्राहकको संख्या देशैभरि ७ लाखभन्दा बढी छन्। कम खपत गर्ने यस्ता ग्राहकको लागि न्यूनतम मूल्य तिरे पुग्नेछ ।

आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत नियमन आयोगलाई खपत बढाउन महसुल घटाउने प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले प्रस्ताव गरेको नयाँ महसुल शून्यदेखि बढीमा ११ रुपैयाँ ५० पैसासम्मको छ। यसअघि न्यूनतम ३ रुपैयाँदेखि १३ रुपैयाँसम्म महसुल थियो । अहिले प्राधिकरणले न्यूनतम ३० रुपैयाँ प्रस्ताव गरेको छ। त्यसो त ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले यसअघि नै उक्त प्रस्ताव गरेका थिए ।

११ युनिटभन्दा बढी प्रयोग गर्नेलाई प्रयोगका आधारमा छुट्टाछुट्टै महसुल निर्धारण गरिनेछ । यसअघि ७ वर्गमा विभाजन गरेर महसुल लिँदै आएको थियो भने अब ६ वर्गमा विभाजन गरेर महसुल निर्धारण गर्ने सिफारिस गरिने प्राधिकरणले बताएको छ ।

तर, प्राधिकरणको सञ्चालक समितिको बैठकको निर्णयको आधारमा भने महसुल हेरफेर हुने छैन ।प्राधिकरणले उत्पादन लागत, विद्युत चोरी तथा चुहावटमा भएको क्षति तथा सञ्चालन खर्चको आधारमा महसुल दर प्रस्ताव गर्ने छ। आधिकारिक रूपमा महसुल दरको निर्धारण विद्युत नियमन आयोगले गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्