Logo

कोटेश्वर-जडीबुटी सडकको जाम हटाउन विकल्पको खोजी



काठमाडौं, २० माघ । कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प निकाल्ने भएको छ । सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउने जनाइएको छ । जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई अनुरोध गरिरहँदा तत्काल समाधानसमेत खोजिएको हो ।

मुख्य जाम हुने क्षेत्र लक्षित गर्दै सो खण्डमा तीनदेखि चार लेन थप्न सडकको चौडाइ विस्तार गर्न लागिएको हो । हाल सो सडक खण्डको उत्तरतर्फ एक लेन थपिने र दक्षिणतर्फ दुईतीन लेनसम्म थप्ने गरी योजना बनाइएको सडक विभागले जानकारी दिए ।

उत्तरतर्फ एक लेनसम्म थप्न सडककै जग्गा रहेको छ । हाल पैदलयात्रु मार्ग र ढल रहेका स्थानलाई सारेर लेन तयार गर्न सकिन्छ । दक्षिणतर्फ चौडाइ बढाउन पर्यटन मन्त्रालयसँग छलफल भइरहेको छ ।

उत्तरतर्फको थप हुने भनिएको लेनमा हाल भौतिक संरचनाका रुपमा एउटा मात्रै घर रहेको प्रवक्ता सापकोटाले जानकारी दिए । उक्त घर तीनकुने–सूर्यविनायक सडक विस्तारका क्रममा समेत भत्काउन सकिएको थिएन । मन्त्रिपरिषद् बैठकले उक्त घर भत्काउने निर्णय गरिसकेको जनाइएको छ ।

जडीबुटीबाट लोकन्थलीतर्फ जाने मात्रै होइन, पेप्सीकोलातर्फ जाने सवारीसाधनसमेत जाममा पर्ने गरेका छन् । त्यस्तै, कोटेश्वर चोकबाट तीनकुनेतर्फ जाने सवारी साधनसँगै दैनिक बालकुमारीतर्फ जाने सवारीसाधनसमेत रोकिने गर्छन् । उत्तरतर्फ विस्तार हुने एक लेनले पेप्सीकोलातर्फ र कोटेश्वरबाट बालकुमारीतर्फ जाने सवारीसाधन निर्वाधरुपमा जान सक्ने प्रवक्ता सापकोटाले जानकारी दिए । विमानस्थलको ‘लाइटिङ सिस्टम’ का कारण बारभन्दाभित्रको क्षेत्र सडकले तत्काल पाउन नसक्ने देखिएको छ । दक्षिणतर्फ सडकको क्षेत्रबाट विमानस्थलको जग्गा लिएर थप गर्न सकिने देखिएको छ ।

आगामी वैशाख जेठ महिनामा ट्र्याक खोलेर सकेसम्म चाँडो सडक सञ्चालनमा ल्याउने विभागले जनाएको छ । जाइकाले यसअघि नै कोटेश्वर–जडीबुटी सडकमा पूर्वसम्भाव्यता अध्ययनसमेत गरिसकेको छ । विस्तार तत्काल समाधान मात्रै हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्