चीनबाट उद्धार गरिने नेपालीलाई इचंगुनारायणको अपार्टमेन्टमा राखिने
काठमाडौं, २० माघ । सरकारले चीनबाट उद्धार गरिने नेपालीलाई काठमाडौंको नागार्जुन नगरपालिकास्थित इचंगुनारायणमा रहेको अपार्टमेन्टमा राखिने भएको छ ।
उद्धार गरिएकामा कोरोना भाइरस भए/नभएको स्वास्थ्य परीक्षणको रिपोर्ट नआउञ्जेल उक्त अपार्टमेन्टमा राख्न लागिएको हो । अपार्टमेन्टमा सुरक्षित अवस्थामा राख्ने व्यवस्था मिलाउन सरकारले नेपाली सेनालाई जिम्मेवारी दिन लागेको छ ।
इचंगुनारायणमा सुकुम्वासी राख्न २०६९ सालमा अपार्टमेन्ट बनाए पनि त्यो अहिलेसम्म खाली नै छ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बागमती नदी किनारका झुप्रामा बसेका सुकुम्वासीलाई राख्न १२ करोड रूपैयाँमा अपार्टमेन्ट बनाइएको थियो ।
इचंगुनारायणका दुई ठाउँमा रहेका अपार्टमेन्टमा एक सयभन्दा बढी फ्ल्याट छन् ।
