सवारीसाधन धोएर मात्र भित्र्याउने
काठमाडौं, २२ माघ । सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागको अनुमान छ ।
उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागले जनाएको छ । विभागका अनुसार अहिले धादिङको विभिन्न स्थानमा जग्गा खोजी गरिरहेको छ। उपयुक्त जग्गा भेटिनासाथ वासिङ सेन्टर निर्माण सुरु गरिनेछ ।
अहिले झण्डै पाँच–छ ठाउँमा जग्गा हेरिरहेकामा उपयुक्त स्थान छनोट हुने बताइएको छ । यसले गर्दा सवारीसाधनका कारण हुने धुलो र हिलो कम हुने विश्वास गरिएको छ ।
काठमाडौँ महानगरपालिका, ललितपुर मानगरपालिका, सडक विभाग लगायतले सडकको धुलो सफा गर्नका लागि यान्त्रिक कुचो (ब्रुमर) सञ्चालन गरिरहेका छन् ।
