रोकिएन अर्बौं रुपैयाँको हुन्डी कारोबार
काठमाडौं, २३ माघ । राजस्व अनुसन्धान विभागको अनुसन्धानले अझै हुन्डीमार्फत कारोबार भइरहेको फेला पारेको छ । सरकारले औपचारिक च्यानल (बैंकिङ च्यानल) बाट रेमिटेन्स ल्याउन प्रोत्साहन गरे पनि हुन्डीमार्फत रकम आइरहेको भेटिएको हो ।
विभागले चालु आर्थिक वर्षको साढे ६ महिनामा पाँच अर्ब रुपैयाँको बिगो दाबी गर्दै हुन्डी कारोबार तथा विदेशी विनिमय अपचलन मुद्दा दायर गरेको छ । माघ १५ सम्म तीन सय १५ जनालाई प्रतिवादी बनाई पाँच अर्ब १० करोड ७८ लाख बिगो दाबी गरेर मुद्दा दायर गरेको विभागले जानकारी दिए । विभागले कारोबारीलाई बिगोको तेब्बरसम्म जरिवानासहित तीन वर्ष कैद सजाय माग दाबी गरेको छ ।
विदेशमा रहेका नेपालीले बैंकिङभन्दा हुन्डीबाट पठाउँदा कम खर्च हुने भएकाले यसको कारोबार नरोकिएको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् । नेपालबाट गैरकानुनी रुपमा विदेश जाने पैसा पनि हुन्डीमार्फत नै जान्छ । गोप्य सूचनाका आधारमा सीमित कारोबारीलाई विभागले अनुसन्धानको दायरामा ल्याए पनि अर्बौं रुपैयाँको हुन्डी कारोबार हुँदै आएको छ ।
विदेशबाट रेमिटेन्स ल्याउन नेपाल राष्ट्र बैंकले तीन दर्जनभन्दा बढी कम्पनीलाई अनुमति दिएको छ । तर हुन्डी कारोबार रोकिएको छैन। हुन्डी कारोबारीले विभिन्न मुलुकमा सञ्जाल खडा गरेर कारोबार गर्दै आएका छन् ।
