नागरिक समाज भनेको के हो ? यसका प्रमुख विशेषता उल्लेख गर्नुहोस् ।
प्रश्न : नागरिक समाज भनेको के हो ? यसका प्रमुख विशेषता उल्लेख गर्नुहोस् ।
उत्तर : सर्वसाधारणको हकहित, अधिकार एवम् अवसर प्राप्तिका लागि स्वेच्छिक रूपमा मिलेर बनेको सङ्गठित समूहलाई नागरिक समाज भनिन्छ । नागरिक समाजले समाजमा अन्याय अत्याचार हुन नदिने, राष्ट्रिय सरोकारका विषयमा जनतालाई सचेत पार्ने, सरकारका काममा सहयोग गर्ने, जनताका काम गर्न सरकारलाई सजग गराउने, भ्रष्टाचारविरुद्ध आवाज उठाउनेजस्ता कामहरू गर्दछ ।
यसर्थ, आमनागरिकका पक्षमा सङ्गठित र कार्यरत सबै सङ्घ–संस्थाहरू नागरिक समाज हुन् तर राजनीतिक र आर्थिक स्वार्थले प्रेरित सङ्घ–संस्था भने नागरिक समाजभित्र पर्दैनन् । उदाहरणका लागि नेपालका आमा समूह, शान्ति समाज, चिकित्सक सङ्घ, कलाकार सङ्घ आदिलाई नागरिक समाजका रूपमा लिन सकिन्छ ।
नागरिक समाजका विशेषता;
– स्वेच्छिक सहभागिता, जनहितका कार्य, गैरसरकारी, गैरराजनीतिक एवम् मुनाफारहित संस्था हुनु नै नागरिक समाजको मूलभूत विशेषता हो । यो गतिशील संस्था हो ।
यसका अरू विशेषतालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ;
– सरकारभन्दा बाहिर रहेर सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने समूह,
– बाह्य नियन्त्रणबाट मुक्त,
– विचार, आग्रह एवम् स्वार्थबाट मुक्त,
– स्वयम्सेवी समूह, छिटो प्रतिक्रिया जनाउने, जवाफदेही,
– प्रजातान्त्रिक संवाद क्षमतायुक्त,
– लचिलो तथा कार्यमूलक समूह,
– आमनागरिकका आवाज सुन्ने, भावना बुझ्ने नागरिकमैत्री,
– सत्य, न्याय तथा जनतन्त्रको पक्षपाती ।
प्रश्न : अधिकारको निक्षेपणले स्थानीय तहमा चुनौती वहन गर्ने क्षमता बढाउँछ र सेवाप्रदायमा बढी प्रभावकारिता आउँछ भन्ने कुरा तपाईं ठीक ठान्नुहुन्छ ? अधिकारको निक्षेपण केका लागि कसलाई कसरी गरिन्छ ? लेख्नुहोस् ।
उत्तर : केन्द्र सरकारले स्थानीय तहलाई कानुनी र संस्थागत व्यवस्थासहित प्रशासनिक, राजनीतिक एवम् वित्तीय अधिकार हस्तान्तरण गर्ने कार्य अधिकार निक्षेपण हो । यसले स्थानीय निकायमा चुनौती वहन गर्ने क्षमता बढाउँछ र सेवाप्रदायमा बढी प्रभावकारिता आउँछ भन्ने कुरा म पूर्ण रूपमा ठीक ठान्दछु किनकि :
– यसले स्थानीय तहलाई स्थानीय जनताप्रति जिम्मेवार एवम् जवाफदेही बनाउन
मद्दत गर्दछ ।
– यसले स्थानीय तहलाई स्वनिर्णय, स्वनियन्त्रण र स्वव्यवस्थापन बनाउँछ ।
– यसले स्थानीय तहको साधन–स्रोतको प्रभावकारी परिचालन गर्न मद्दत गर्दछ ।
– स्थानीय तहको आवश्यकता त्यहीँको निकायबाट पहिचान गरी विकासलाई तल्लो तहबाटै प्रभावकारी बनाउन यसले सहयोग गर्दछ ।
– स्थानीय विकास निर्माण एवम् सेवा प्रवाहमा सहभागिता, पारदर्शिता एवम् प्रभावकारिता अभिवृद्धि गरी स्थानीय तहबाटै सुशासनको प्रवद्र्धन गर्न यसले मद्दत गर्छ ।
– यसले स्थानीय तहलाई स्वायत्त, स्वतन्त्र एवम् आत्मनिर्भर बनाउन सहयोग गर्छ ।
अधिकारको निक्षेपण केका लागि
– स्थानीय तहलाई राजनीतिक, आर्थिक एवम् वित्तीय अधिकार हस्तान्तरण गर्नका लागि,
– स्थानीय तहलाई स्थानीय जनताप्रति थप जिम्मेवार एवम् जवाफदेही बनाउनका लागि,
– स्थानीय तहबाटै शासनमा सहभागिता अभिवृद्धि गरी तल्लो तहबाट नै सुशासन स्थापना गर्न,
– स्थानीय तहलाई कानुनी र संस्थागत दुवै दृष्टिबाट बलियो बनाउन,
अधिकारको निक्षेपण कसलाई :
अधिकारको निक्षेपण मूलतः स्थानीय तहलाई गरिन्छ । यहाँ स्थानीय निकाय भन्नाले गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समिति बुझ्नुपर्दछ, जहाँ जनताबाट निर्वाचित पदाधिकारी हुन्छन् ।
अधिकारको निक्षेपण कसरी:
अधिकारको निक्षेपण मूलतः निम्नानुसार
गर्न सकिन्छ;
– संविधानमा व्यवस्था गरेर,
– छुट्टै नयाँ कानुन तर्जुमा गरेर,
– संस्थागत व्यवस्था गरेर,
अन्त्यमा, अधिकारको निक्षेपण विकेन्द्रीकरणको तत्व हो । विकेन्द्रीकरण सुशासनको तत्व हो । अतः अधिकारको निक्षेपण सुशासन कायम गर्ने कार्यसँग सम्बन्धित छ । मुलुकमा सुशासन कायम गर्नका लागि स्थानीय तहको अधिकार स्थानीय तहमै हस्तान्तरण गरी स्थानीय तहलाई स्थानीय जनताप्रति जिम्मेवार एवं जवाफदेही बनाई स्थानीय तहदेखि नै सुशासनको स्थापना गर्नु जरुरी छ ।
