मिडिया काउन्सिल विधेयक पारित, पत्रकारले परीक्षा दिनु नपर्ने
काठमाडौं, २३ माघ । नेपाल मिडिया काउन्सिल विधेयक २०७६ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । बिहीबारको राष्ट्रियसभा बैठकले पत्रकारले परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै नेपाल मिडिया काउन्सिल विधेयक २०७६ संशोधनसहित सर्वसम्मतिबाट पारित गरेको हो ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट प्रस्ताव भएको पत्रकारहरुले लाइसेन्स लिनुपर्ने व्यवस्था हटाउन माग गर्दै राष्ट्रियसभामा सांसद खिमलाल भट्टराईले प्रस्ताव गरेका थिए । विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या ५ को खण्ड ‘य’ मा रहेको पत्रकारको रुपमा काम गर्न चाहानेका लागि परीक्षा गर्ने व्यवस्था र क्रमसंख्या १५ मा रहेको पत्रकारको लाइसेन्स सम्बन्धि परीक्षा, दर्ता तथा अभिलेख सम्बन्धि व्यवस्था हटाउन सांसद भट्टराईले गरेको प्रस्तावमा अधिकांश सांसदहरुले सहमति जनाएका थिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा समेत उक्त संशोधन प्रस्तावमा सकारात्मक भएपछि लाइसेन्स लिनुपर्ने व्यवस्था हटाउँदै विधेयक पारित भएको हो ।
