वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन अझै केही दिन लाग्ने
काठमाण्डौं, २४ माघ । कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन अझै केही दिन लाग्ने भएको छ ।
सरकारले उनीहरुलाई ल्याएर राख्ने ठाउँको टुङ्गो लगाए पनि ती ठाउँमा राख्न केही प्राविधिक तयारी गर्न बाँकी रहेकाले अझै समय लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले दिएको बाध्यात्मक निर्देशनअनुसार नै सरकारले चीनबाट फर्काइएका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । तर उनीहरुलाई राख्न अझै प्राविधिक कुरा मिलाउने काम बाँकी नै रहेको मन्त्रालयले जनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको इचङ्गुनारायणमा रहेको सुकुम्बासी आवास भवन, शिवपुरीको सैनिक ब्यारेक, भक्तपुरको खरिपाटीमा रहेको विद्युत् प्राधिकरण तालिम केन्द्र र सूर्यविनायकको सैनिक ब्यारेकमा राख्न निर्देशन दिएका छन् ।
चीनबाट फर्कन आवेदन दिएका १ सय ८० जनालाई कहाँ, कति जनाका दरले राख्ने भन्ने तय गरी त्यसैअनुसारको कक्ष बनाउनुपर्ने भएकाले कम्तीमा अझै एकरदुई दिन लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुमध्ये सम्भावित बिरामीलाई लक्षित गरी ४३ शैय्याको आइसोलेशनु वार्ड तयारी अवस्थामा राखिएको र दुई सय बिरामीलाई परीक्षण गर्न पुग्ने किट मौज्दात रहेको पनि मन्त्रालयले जनाएको छ ।
