अब ट्राफिक प्रहरीले पनि परीक्षा दिनुपर्ने
काठमाडौं, २६ माघ । ट्राफिक प्रहरीले परीक्षा दिनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्यसम्पादनलाई नै मुख्य आधार बनाई उनीहरूको मूल्यांकन सुरु गर्ने भएको छ । ट्राफिकले गर्ने दैनिक कामकारबाहीलाई चार खण्डमा बाँडेर ४ सय पूर्णांकका ५० प्रश्नका आधारमा मूल्यांकन गर्ने भएको हो ।
कार्यालय व्यवस्थापन, प्रहरी आचरण व्यवहार एवं अनुशासनमा २५, ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनीकरणमा २ सय, सवारी चोरी एवं दुर्घटनासम्बन्धी अनुसन्धानमा ६० र सिर्जनशील एवं उपलब्धिमूलक कार्यसम्पादनबापत ११५ अंकमा विभाजन गरिएको छ। ट्राफिकका सबै कामकारबाहीको वस्तुनिष्ठ आधारमा वास्तविक मूल्यांकन गरी व्यावसायिक, स्तरीय एवं काम प्रभावकारी बनाउन महाशाखाले परीक्षाको अवधारणा अघि सारेको हो ।
महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सम्पूर्ण ट्राफिक इकाइसँग अन्तरइकाइ कार्यसम्पादन परीक्षाको करार सम्झौता गरिएको छ । ३/३ महिनामा उत्कृष्ट काम गर्ने कार्यालय प्रमुख र अन्य प्रहरी कर्मचारीलाई पुरस्कृत गरिने छ । यो अवधारणाले हरेक ट्राफिकलाई उसको काममा उत्तरदायी र जवाफदेही बनाउने महाशाखाको दाबी छ ।
परीक्षाका विषयमा मापसे कारबाही, लेन अनुशासन उल्लंघनमा कारबाही, दुर्घटना गरी फरार सवारी र चालक पक्राउ, चोरीका सवारी पक्राउ र अनुसन्धान, दुर्घटनामा चालक, सहचालक र यात्रुको सुरक्षा तथा उद्धारलगायतलाई मान्यता दिइएको छ। ट्राफिक सचेतना कक्षा, बढी भाडा असुल्ने, मिटरमा नजानेलाई कारबाही, ठूलो आवाज निकाल्ने तथा मोडिफाई र तीव्र गतिमा लापरवाहीपूर्वक सवारी चलाउनेलाई कारबाही, सार्वजनिक यातायातमा यात्रुमैत्री बनाउन गरेको सुधार, आरक्षण सिटको व्यवस्थापनलाई परीक्षाको आधार बनाइएको छ ।
महाशाखाका अनुसार ट्राफिक जाम न्यून गर्न गरिएको प्रयास, निषेधित स्थानमा पार्किङ गर्नेलाई कारबाहीलगायत सबैमा नम्बर दिइनेछ । ट्राफिक नियम र सडक सुरक्षासम्बन्धी सचेतना कक्षा, ट्राफिक लाइट, सीसी क्यामेरा, ट्राफिक संकेत थप, फुटपाथ अतिक्रमण हटाउने, लेन मार्किङ, यात्रीको सुरक्षालगायत सुधारमा समेत नम्बर दिने जानकारी महाशाखाले दिएको छ ।
साढे ८० प्रतिशतभन्दा बढी अंक ल्याउनेलाई विशिष्ट, ६५ देखि ७९.९५ प्रतिशत ल्याउनेलाई प्रथम, ५५ देखि ६४.९५ प्रतिशत अंक ल्याउनेलाई द्वितीय, ४५ देखि ५४.९५ प्रतिशत ल्याउनेलाई तृतीय श्रेणी तोकिएको छ । एसएसपी ढकालका अनुसार विशिष्ट श्रेणी ल्याउनेलाई बढुवामा सहयोग हुने गरी पुरस्कृत गरिने, प्रथम श्रेणीलाई प्रशंसापत्र दिइने, दोस्रो हुनेलाई सान्त्वना र तृतीय हुनेलाई थप सुधारका लागि सचेत गराइनेछ । भ्रष्टाचार गरे, आर्थिक हिनामिना गरे विभागीय कारवाहीसँगै पाएको अंकबाट २० अंकसम्म घटाइनेछ । महाशाखाअन्तर्गत काठमाडौं उपत्यकामा ३५ इकाइ छन् ।
