पाहुना टोली ओमानसँग नेपाल ८ विकेटले पराजित
काठमाडौं, २६ माघ । आईसीसी विश्वकप लिग २ अन्तर्गत अन्तर्गत आइतवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली ओमानसँग नेपाल ८ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएर ८ विकेट गुमाउँदै नेपालले दिएको २५० रनको चुनौती ओमानले २ विकेटको क्षतिमा १६ बल बाँकी छँदै भेट्टाएको हो ।
प्रतियोगितामा नेपालविरुद्ध दोस्रो जित निकाल्ने क्रममा ओमानका लागि अकिब लैयसले सर्वाधिक १०९ रन बनाए । त्यस्तै कप्तान जिसन मक्सुदले ६८ रनको गतिलो योगदान दिए । ओमानका ओपनर जितेन्द्र सिंहले २३ रन बनाए । अर्का ओपनर खावार अलीले ४१ रनको योगदान दिए । नेपालका लागि सुसन भारी र कुशल मल्लले एकरएक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालका कप्तान ज्ञानेन्द्र मल्लले एक दिवसीय क्रिकेटमा अर्धसतक पूरा गर्दै ७६ बलमा ५६ रन बनाएका थिए । नेपालले गतिलो स्कोर तयार गर्ने क्रममा ८ विकेट गुमाएको थियो । मल्लले ७० बलमा ५० रन पूरा गरेका थिए। ज्ञानेन्द्रले पहिलो अर्धशतक नेदरल्याण्ड्सविरुद्ध प्रहार गरेका थिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सम्हालिएर प्रदर्शन गरेको थियो । नेपाली ओपनरहरुले पनि सम्हालिएर खेलिदिएपछि नेपालले ८ विकेटको क्षतिमा स्कोर २४९ रनमा पुर्याएको थियो ।
नेपालका लागि पूर्वकप्तान पारस खड्काले दोस्रो सर्वाधिक स्कोर गरेका थिए । उनले ३४ बलमा ३८ रनको योगदान दिए । त्यसपछि करण केसीले ४७ बलमा ३५ रनको योगदान दिए । आरिश शेख र कुशल मल्लले समान २८/२८ रन बनाउन सफल भए । ओपनर सुबास खकुरेलले २२ रनको योगदान दिए ।
अन्तिम क्रममा आएका सन्दीप लामिछानेलेसमेत १० रनको योगदान दिए। ओमानका लागि अकिब लेयसले सर्वाधिक ४ विकेट लिन सफल भए। त्यसैगरि मोहम्मद नदिमले ३ विकेट लिए । पहिलो खेलमा ओमानसँग पराजित नेपालले आज पनि बदला लिन सकेन। दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो ।
