प्रधानमन्त्री ओली ‘तिमी’ देखि असन्तुष्ट

काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चार माध्यमहरुले समाचारमा सम्बोधन गर्ने शब्द तिमी प्रति पुन: असन्तुष्टि जनाएका छन् ।
मंगलबार गृह मन्त्रालयमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सञ्चार माध्यमहरुले तपाईं नभनि तिमी भन्ने गरेकामा असन्तुष्टि जनाएका हुन् । प्रधानमन्त्रीले सञ्चार माध्यमहरुले अंग्रेजीको सिको गरेर कसैलाई हजुर भन्दा आफू अपमानित भएको ठान्ने गरेको बताए ।
नेपालको आफ्नो भाषा र भाषाको मर्म भएको उल्लेख गर्दै ओलीले सञ्चार माध्यमहरुले कसैलाई हजुर भन्दा साह्रै सानो ठान्ने गरेको बताए । ‘‘सञ्चार माध्यमहरुबाट हामी छापिएका समाचार हेर्छौं । हाम्रो आफ्नो भाषा छ । भाषाको मर्म छ । हाम्रो भाषामा बोलाउँदा हजुर भन्ने छ । हाम्रा सञ्चार माध्यमहरुलाई हजुर भन्दा साह्रै सानो ठान्छन् । हाम्रो सञ्चार माध्यमलाई अंग्रेजीको कपी गरेर बोलाउँदा मिस्टररमिस भनेर बोलाउन पाउँदा राम्रो लाग्छ । कसैलाई तपाईं भन्नुपर्दा अचम्मको अपमान भएको जस्तो लाग्छ,’’ उनले भने ।
प्रधानमन्त्री ओलीले आदरार्थी शब्द र सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सुनियोजित प्रयास भएको आरोप समेत सञ्चार माध्यमलाई लगाएका छन् । नेपाली भाषामा बच्चालाई तँ भनिने, हुर्किँदै गएपछि तिमी र आफूभन्दा ठूला तथा दौतरीहरुलाई तपाई भनेर भनिने उल्लेख गर्दै ओलीले भने, ‘‘तपाईं भन्ने आदरार्थी शब्द र व्यवहार समाजबाटै हटाउने सुनियोजित प्रयास भएको छ । अंग्रेजीमा यु भनेपछि पुग्छ । बीबीसीले पहिले सुरु ग¥यो । यसो भने, यसो भनिन् । हाम्रा हजुर बाले यसो भने, हजुर आमाले यसो भनिन् । भन्नुभयो भन्न आउँदैन । अनी त्यही कपी गरेर, नक्कल गरेर सबैले यस्तै भन्न थाले ।’’
उनले नेपाली सभ्यता र संस्कृतिमाथि सञ्चारमाध्यमहरुबाट निरन्तर हमला भएको समेत बताए । लहैलहैमा लागेर सञ्चार माध्यमहरुले विनम्रता र शालिनतामाथि हमला गरिरहेको आरोप लगाउँदै ओलीले भने, ‘त्यसलाई आफ्नो सु¥याई ठानेका छन् ।’
प्रधानमन्त्री ओलीले यस अघिका विभिन्न प्रसंगमा पनि संचार माध्ययमले तिमी शब्द प्रयो गरेको प्रति यस्तै असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
