Logo

ठाकुर ज्ञवाली भए नयाँ आईजीपी



काठमाडौं, २८ माघ । सरकारले डीआईजी ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको छ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई २७ औं आईजीपी नियुक्त गरेको हो । कार्यसम्पादन मूल्यांकन र जेष्ठताका आधारमा ज्ञवालीलाई आईजीपी नियुक्त गरेको हो ।

उनीसँगै आईजीपीको दौडमा डीआईजी तारिणीप्रसाद लम्साल थिए । दुवै २०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् । आईजीपी ज्ञवालीले आगामी असार २४ गते सेवाहदका कारण अवकाश पाउनेछन् ।

आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबार अवकाश पाएका छन् ।

आईजीपी खनालसँगै एआईजी पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यात सेवाहदकै कारण अवकाश भएपछि डीआईजी ज्ञवाली एआईजी बनेका हुन् ।

मंगलबार नै खनालकै ब्याची केदार रिजाल, मनोज न्यौपाने, शेरबहादुर बस्नेत, पूर्णचन्द्र जोशी, कमल जिटी, दानसिंह बोहोरा, नारायणसिंह खड्का, हरिभक्त प्रजापति, पिताम्बर अधिकारी, दीपक थापा, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, सुरज केशी, दिनेश अमात्य, महेन्द्र पोखरेल र सुरेशविक्रम शाह सेवाहदकै कारण अवकाश भएका छन् ।

प्रतिक्रिया दिनुहोस्