Logo

राजस्व चुहावट नियन्त्रण गर्ने उपायहरू के–के हुन् ? लेख्नुहोस् 



प्रश्न : राजस्व चुहावट नियन्त्रण गर्ने उपायहरू के–के हुन् ? लेख्नुहोस् ।

उत्तर : राजस्वसम्बन्धी प्रचलित ऐन नियमको उल्लङ्घन गरी राजस्व नतिर्ने वा कम तिर्ने कार्य राजस्व चुहावट हो । नेपालमा राजस्व चुहावट रोक्न कानुनी र संस्थागत व्यवस्था गरिएको छ र पनि राजस्व चुहावट नियन्त्रण व्यवस्थित हुन सकेको छैन । नेपालमा खासगरी नेपाल र भारतबीच सीमा खुला रहनु, करदातामा सहज रूपमा कर तिर्ने बानीको विकास नहुनु, राजस्व सङ्कलन गर्ने र राजस्व चुहावट रोक्ने निकायबीच कार्यगत समन्वयको कमी हुनु, सरकारले जनतालाई राजस्वको सही सदुपयोगको प्रत्याभूति दिन नसक्नुजस्ता कारणले राजस्व चुहावट भएको पाइन्छ । त्यसैले राजस्व चुहावट नियन्त्रण गर्न यी क्षेत्रमा सुधार गर्नु आवश्यक देखिन्छ ।

समग्रमा राजस्व चुहावट नियन्त्रण गर्न निम्न उपायहरू अबलम्वन गर्नुपर्दछ;
– नेपाल र भारत बीचको खुला सीमा व्यवस्थित गर्ने,
– राजस्व प्रहरीको व्यवस्था गर्ने, द्रुत गस्ती र आकस्मिक गस्तीलाई थप क्रियाशील बनाउने,
– दीर्घकालीन राजस्व नीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने,
– राजस्वसम्बन्धी ऐन, नियममा समसामयिक परिमार्जन गरी प्रभावकारी पालना गर्ने÷गराउने,
– करदातामा सहज रूपमा कर तिर्ने बानीको विकास गराउने,
– करको दर घटाई करको दायरा फराकिलो बनाउने,
– राजस्व प्रशासनसँग सम्बन्धित निकायबीच कार्यगत समन्वय बढाउने,
– राजस्व प्रशासनलाई जिम्मेवार, जवाफदेही, आधुनिक एवम् उच्च मनोबलयुक्त बनाउने,
– राजस्व चुहावट रोक्ने कार्यलाई प्राथमिकतामा राखेर कार्य गर्ने,
– कानुनी र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्ने, तिनको प्रभावकारी पालना गर्ने, गराउने  ।


प्रश्न : सामाजिक मूल्य–मान्यता भनेको के हो ? चर्चा गर्नुहोस् ।

उत्तर : समाज र समाजमा बसोवास गर्ने व्यक्तिहरूको असल आचरण, सहयोगी व्यवहार, नम्रता, शिष्टताजस्ता असल सामाजिक चालचलन एवम् बानी–व्यहोरालाई सामाजिक मूल्य–मान्यता भनिन्छ । समाजमा एक व्यक्तिले अर्को व्यक्तिलाई गर्ने आदर, सत्कार, माया–ममता, नम्र र शिष्ट भाषा, इमानदारी, नैतिकता, आज्ञापालना, अनुशासन, गरिब दुःखीमाथि सेवा सहयोग, मित्रवत् व्यवहार, सम्मान, मर्यादा आदि सामाजिक मूल्य–मान्यता हुन् ।

यो समाज र समाजमा बसोवास गर्ने व्यक्तिहरूको आचरणलाई राम्रो नराम्रो भनेर मूल्याङ्कन गर्ने तथा छुट्याउने आधार पनि हो । सामाजिक मूल्य–मान्यताहरू व्यक्तिले समाजबाट सिकेर ग्रहण गर्दै जान्छ । सामाजिक मूल्य–मान्यताविपरीत जाने व्यक्तिलाई समाजद्वारा अनैतिक मानिन्छ । यसले समाजलाई असल मार्गतर्फ लैजान र खराब व्यवहारबाट नियन्त्रण गर्न सहयोग गर्दछ । यो सामाजिक संरचनाको मूलआधार पनि हो । सामाजिक मूल्य–मान्यता समाजअनुसार फरक–फरक हुन सक्छ । सामाजिक मूल्य र मान्यताहरू विशेषगरी धर्मद्वारा निर्देशित हुन्छन् । सामाजिक मूल्य र मान्यता समाजका सम्पूर्ण सदस्यका लागि अनिवार्य हुन्छ । यो सामाजिक नियन्त्रणको महत्वपूर्ण साधन पनि हो ।

प्रश्न : सामुदायिक स्वास्थ्य भनेको के हो ? नेपालका प्रमुख सामुदायिक स्वास्थ्य समस्याहरू पहिचान गरी यिनको समाधानमा व्यक्ति, परिवार र समुदायको के–कस्तो भूमिका हुनुपर्छ ? चर्चा गर्नुहोस् ।

उत्तर : समुदायका व्यक्तिहरूले आफ्नो समुदाय एवम् समाजमा रहेका विभिन्न स्वास्थ्य समस्या यकिन गरी व्यक्ति, परिवार, समाज तथा वातावरणको स्वास्थ्यमा सुधार ल्याउने कार्यलाई सामुदायिक स्वास्थ्य भनिन्छ । यसको मूलभूत उद्देश्य समुदायको स्वास्थ्यस्तर माथि उकास्नु हो । व्यक्तिले आफ्नो स्वास्थ्य सुधार गर्न व्यक्तिगत प्रयासबाट मात्र सम्भव नहुने हुनाले सामुदायिक स्वास्थ्यको अवधारणा अगाडि ल्याइएको हो । त्यसैले समुदायको स्वास्थ्य सुधार गर्न व्यक्ति, परिवार, समुदाय एवम् राष्ट्र सबैको संयुक्त प्रयास हुनुपर्दछ ।

नेपालका प्रमुख सामुदायिक स्वास्थ्य समस्या
भौगोलिक कठिनाइ, स्वास्थ्यसम्बन्धी जनचेतनाको अभाव, औषधिको अभाव, दक्ष स्वास्थ्यकर्मीको अभाव आदि जस्ता कारणले नेपालको सामुदायिक स्वास्थ्य विभिन्न समस्याबाट ग्रसित छ । हिमाल, पहाड, तराई सबैमा विभिन्न स्वास्थ्य समस्या देखिएका छन् । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी सामुदायिक स्वास्थ्य समस्या छन् ।

समग्रमा नेपालका प्रमुख सामुदायिक स्वास्थ्य समस्याहरू निम्न छन्;
– सरुवा रोग जस्तै : झाडापखाला, हैजा, आउँ, जुका आदिको प्रकोप हुनु,
– शिशु मृत्युदर, बाल मृत्युदर, मातृ मृत्युदर उच्च हुनु,
– सन्तुलित भोजनबारे जानकारी नहुनु,
– कुपोषण बढ्दै जानु,
– जीवनशैली अस्वस्थकर हुनु,
– स्वास्थ्य सेवाको कमी हुनु,
– स्वास्थ्य शिक्षाको कमी हुनु,
– ग्रामीण बस्तीहरूमा स्वास्थ्यसम्बन्धी दक्ष जनशक्तिको
अभाव हुनु,
– धूमपान, मद्यपान एवम् लागूपदार्थको सेवन गर्नेको सङ्ख्या
बढ्दै जानु,
– समग्र स्वास्थ्य सेवा महँगो हुनु, गरिबको पहँुचमा सर्वसुलभ हुन नसक्नु ।

सामुदायिक स्वास्थ्य समस्या समाधानमा व्यक्ति, परिवार र समुदायको भूमिका:
क) व्यक्तिको भूमिका
– सन्तुलित भोजन गर्ने, सुर्ती सेवन, मदिरा सेवनजस्ता बानी हटाउने तथा अरूलाई पनि हटाउन सल्लाह सुझाव दिने,
– नियमित शारीरिक व्यायाम गर्ने, खेलकुदमा संलग्न हुने,
– समय–समयमा स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्यसम्बन्धी आफूले जानेका कुरा अरूलाई सिकाउने र अरूले जानेका कुरा आफूले सिक्ने,

ख) परिवारको भूमिका
– परिवार पहिलो पाठशाला भएकाले परिवारको खानपिनमा सुधार ल्याउने, बालबच्चालाई स्वास्थ्यसम्बन्धी राम्रो बानीबेहोरा सिकाउने,
– स्वास्थ्य शिक्षाबारे परिवार एवम् समुदायमा जनचेतना बढाउने,
– सामुदायिक स्वास्थ्यमा महिला सहभागिता बढाउन घरपरिवारबाट महिलालाई अनुकूल वातावरण तयार गरिदिने,
– गाउँ, घर, बस्ती, टोलको सरसफाइ गर्न परिवारका सबै सदस्य क्रियाशील हुने, सहयोग गर्ने,

ग) समुदायको भूमिका
– व्यक्ति र परिवारले गर्न नसक्ने काम समुदाय मिलेर गर्ने, जस्तै : खानेपानी आपूर्ति, ढलनिकास, सार्वजनिक सरसफाइ, वृद्धाश्रम, खेलकुद मैदान, पार्क, सार्वजनिक चर्पी आदिको निर्माण गर्ने,
– फोहोरमैला व्यवस्थापनमा सहयोगी एवम् समन्वयात्मक भूमिका निर्वाह गर्ने, द्वन्द्व, झगडा नगर्ने,
– सामुदायिक अस्पतालको स्थापना गर्ने ।
गोरखापत्र

प्रतिक्रिया दिनुहोस्