Logo

शैक्षिक प्रशासन : अर्थ, उद्देश्य र कार्यक्षेत्र



शैक्षिक कार्यसँग सम्वन्धित व्यक्ति तथा संस्थाको प्रशासनिक कार्य गर्ने विधिलाई शैक्षिक प्रशासन भनिन्छ । नागरिकहरुको सर्वाङ्गीर्ण विकासका लागि सर्वाङ्गीण सेवा र आधार पुर्याउनुलाई प्रशासन भनिन्छ । दार्शनिक सिरोहका अनुसार प्रशासन भनेको सहयोग गर्नु, सेवा गर्नु, निर्देशन गर्नु, शासन गर्नु नै प्रशासन हो भनेका छन् । खासगरी व्यक्ति र समाजको हितको लागि स्थापना गरिएको संयन्त्र नै प्रशासन हो । शैक्षिक कार्यसँग सम्वन्धित व्यक्ति तथा संस्थाको प्रशासनिक कार्य गर्ने संयन्त्रलाई शैक्षिक प्रशासन भनिन्छ ।

Cambell का अनुसार “शिक्षण सिकाइसँग सम्वन्धित विभिन्न पूर्वाधार तयार गर्ने, नीति नियम बनाउने, शिक्षक व्यवस्था गर्ने, सामग्री जुटाउने, शिक्षण सिकाई, कार्य कार्यान्वयन गर्ने प्रक्रिया नै शैक्षिक प्रशासन हो ।” Russell T gregy को भनाईमा “शैक्षिक प्रशासन भन्नाले साधनको प्रभावकारी सदुपयोग र मानव संसाधनको उद्देश्य मुलक उपयोग हो ।” यो विद्यार्थीको विकासको अलवा प्रौढ र समग्र विद्यालयकै विकाससँग सम्वन्धित हुन्छ ।

शैक्षिक प्रशासन भन्नाले शैक्षिक लक्ष्य र उद्देश्य प्राप्ती शैक्षिक संस्था तथा व्यक्तिहरुवीचको समन्वय, सहयोग र सम्वन्ध भन्ने बुझिन्छ । शैक्षिक क्षेत्रका सम्वन्धित शिक्षक, विद्यार्थी, अभिभावक र सर्वसाधारणलाई समन्वय गरी उपलब्ध स्रोत र साधनको प्रभावकारी उपयोग गरी शैक्षिक उद्देश्य पूरा गर्नु नै शैक्षिक प्रशासन हो ।

शैक्षिक प्रशासन विशेष प्रकारको गतिविधि हो जसले व्यवस्थित रुपमा सृजनात्मक र परिणाममुखी दिशामा मानव सांधन र अन्य स्रोतहरुको प्रयोग गरी सबै शैक्षिक कार्यक्रमहरु संचालन गर्दछ । शैक्षिक व्यवस्थापन र शैक्षिक प्रशासनलाई समान अर्थमा लिइएको पाइन्छ । दुवै व्यवस्थित तरिकाले स्रोतहरुको प्रयोग गरेर शैक्षिक कार्यक्रमहरुको उपलब्धी प्राप्त गर्ने दिशामा अगाडि बढेका हुन्छन् ।

इतिहास:

यो प्रयोग मात्र नभई अध्ययनको क्षेत्र पनि हो ।
विसौ शताब्दीको शुरुमा यसको विकास भएको हो ।
शैक्षिक प्रशासन विषय कोलम्बिया विश्वविद्यालयको शिक्षक कलेजमा पढाइएको हो ।
सन् १९५० पछि स्टान्डफोर्ड, सिकागो र हावर्ड विश्वविद्यालयमा पनि यसको अध्ययन हुन थाल्यो ।

शैक्षिक प्रशासनको प्रकृति:

शैक्षिक संस्थाहरुले निरन्तर परिवर्तनको सामना गरिरहेका हुन्छन् । हरेक बर्ष केही विद्यार्थीहरु परिवर्तन भइरहेका हुन्छन् । शिक्षक र कर्मचारी पनि सधैं एकै ठाउंमा बसिरहदैनन् । यस्ता संस्थाहरुमा ताजगी ल्याइरहनुपर्दछ । शैक्षिक संस्थाहरुले आफ्नो संरचनामा निरन्तर परिवर्तन गरिरहनु पर्दछ । पाठ्यक्रममा निरन्तर परिमार्जन गरिरहनु पर्दछ , जसले नयां नयां आवश्यकता र प्रविधिको बारेमा विद्यार्थीहरुलाई सिकाउन सकियोस् । प्रशासक, कर्मचारी, शिक्षकलाई पनि निरन्तर तालिम, विकासको अवसरमा लगाइरहनु पर्दछ ।

निरन्तरको विकासको लागि अनुगमन, समस्याको पहिचान र अनुसन्धान भइरहनुपर्दछ । शैक्षिक संस्थाहरुले ग्राहकको आवश्यकताको पहिचान गरी मूल्य र मान्यताप्रति प्रतिवद्ध जनशक्ति निर्माणको लागि विद्यार्थीहरुलाई सोही वमोजिमको तयारी गरिरहेका हुन्छन् । शिक्षामा शैक्षिक प्रशासनको प्रकृति यस्तो हुनुपर्दछ, जसबाट शिक्षाको उद्देश्यको प्रत्याभुती हुने गरी शिक्षण सिकाईलाई विकास र परिमार्जन गर्न सकियोस् ।

प्रशासन संगठनको अंग हो, जसले सफल कार्यसम्पादनका लागि तीन किसिमका कार्य गर्दछ;

१) शिक्षाका लक्ष्य, उद्देश्यका साथै खास संस्थाको उद्देश्य र लक्ष्य निर्धारण गर्नु
२) कामलाई उत्पादनमूलक बनाउनु
३) उद्देश्य पूर्तिको लागि योजना बनाउनु र राम्रो वातावरण तयार गर्नु

शैक्षिक प्रशासन यस्तो प्रकृया हो, जसले विद्यालय, कलेज र सबै शैक्षिक संस्थाहरुबाट मानव व्यक्तित्व विकासको लागि सहयोग गर्ने गर्दछ । प्राविधिक रुपमा यो मानव व्यक्तित्वको संतुलित विकास गर्ने विज्ञान हो । शैक्षिक प्रशासनले शैक्षिक मञ्चका सबै कुरामा ध्यान दिन्छ । शैक्षिक प्रशासनको विषयबस्तु भनेको बौद्धिक सुन्दरता होइन, यो त यस्तो शैक्षिक गतिविधि हो, जहां शैक्षिक प्रशासनको अभावमा सबै उत्कृष्ट विचार, नीति तथा प्रचलनहरु असफल हुन्छन् ।

शैक्षिक प्रशासनको उद्देश्य,

शिक्षण सिकाईलाई विद्यार्थीको हित हुनेगरी व्यवस्थित तरिकाले सञ्चालन गर्नको लागि गरिने विधि, प्रक्रिया नै शैक्षिक प्रशासन हो । शैक्षिक प्रशासनले उपलब्ध जनशक्तिको प्रयोग गरी लक्ष प्राप्तीको लागि चासो राख्दछ । यसले प्रयोगात्मक परिधीहरुको वारेमा ध्यान दिन्छ, जसले शैक्षिक विधि सञ्चालनमा सहयोग गर्छ, विद्यार्थीको फाइदालाई हेरी लक्ष र उद्देश्य निर्धारण गर्न सहयोग गर्छ । शैक्षिक प्रशासनका निम्न उद्देश्यहरु रहेका छन् ।

कार्यान्वयन गर्नु
निर्देशन दिनु
अनुगमन गर्नु
सुझाव दिनु
सक्रिय तुल्याउनु
खोज्नु
नेतृत्व गर्नु
सहयोग गर्नु

कार्यान्वयन गर्नु
कार्य सम्पादनमा प्रशासन र व्यवस्थापन दुवै पर्दछ । सर्वप्रथम, प्रशासनको उद्देश्य नयां शैक्षिक संस्था खोल्दा कस्तो व्यवधानहरु हुन सक्दछ भनि छलफल गर्ने हुन्छ । योजना कार्यान्वयन गर्न कस्ता स्रोतहरुको आवश्यकता हुन्छ रु कार्यान्वयन गर्ने भनेको संस्थाको आधारशिला निर्माण गर्नु हो । यस अवस्थामा कस्तो स्रोत, कसरी, कहांवाट प्राप्त हुन्छ भन्ने कुरामा स्पष्ट हुनु पर्दछ । शैक्षिक संस्था खोल्दा यसमा भौतिक साधन र मानवीय साधनको प्रयोग गरी अधिकतम उपलब्धी हासिल गर्ने गरि योजना वनाइएको हुन्छ ।

भौतिक साधन भन्नाले भवन, फर्निचर, पुस्तकालय बुझिन्छ भने मानवीय संसाधन भन्नाले उच्च, मध्यम र निन्न तहको जनशक्ति भन्ने बुझाउछ । अभौतिक साधन भनेका विचार, दर्शन आदि हुन् । यसमा उपलब्ध स्रोत र साधनको विश्लेषण गरी आबश्यक साधनको लेखाजोखा गर्ने काम गरिन्छ । यी सबैको उचित योजना र व्यवस्थापन गर्नु शैक्षिक प्रशासनको मूख्य उद्देश्य हो ।

निर्देशन दिनु
प्रशासनले निर्धारण गरेको शैक्षिक संस्थाको उद्देश्यले नै संस्थाको निर्देशनको रुपमा काम गरेको हुन्छ । संस्थाको उद्देश्य प्राप्त नहुंदासम्म निर्देशनको आवश्यकता परिरहन्छ । प्रशासनको माथिल्लो निकायबाट तल्लो निकायमा दिइने निर्देशनका अलवा शिक्ष्ँकहरुले विद्यार्थीहरुलाई निरन्तर निर्देशन दिइरहेका हुन्छन् । कक्षा कोठामा मात्र हेइन, खेल मैदान, क्याफ्टेरिया, प्रयोगशालामा हरेक दिन निर्देशनको आवश्यकता हुन्छ । कहिले कांही समग्र किसिमको निर्देशन दिइन्छ भने कहिलेकाही आवश्यकता हेरी सानो सानो एकाईमा निर्देशन दिइने गरिन्छ । कहिलेकांही समग्र रुपमा दिइएको निर्देशनलाई एकाईहरुमा वितरण गरिएको हुन्छ ।

अनुगमन गर्नु
अनुगमन गर्नु शैक्षिक प्रशासनको महत्वपूर्ण उद्देश्य हो । गुणात्मक अनुगमनले कामको गुणस्तरमा वृद्धि गर्दछ । शिक्षण सिकाईको क्षेत्रमा शैक्षणिक सामग्रीको अलवा मानव स्रोतको पनि अनुगमन गरिरहनु पर्दछ । क्यालेण्डरको कार्यान्वयन भए नभएको, कोर्ष पूरा भए नभएको पनि अनुगमन गर्नुपर्दछ । प्रभावकारी अनुगमनको अन्तर्गत नै प्रभावकारी कार्य सम्पादन सम्भव हुन्छ ।

सुझाव दिनु
शैक्षिक प्रशासनले शैक्षिक गतिविधिहरुको अनुगमन र कार्यान्वयन मात्र गर्दैन, यसले आवश्यक विधि र प्रक्रियाको लागि सुझाव दिने काम पनि गर्दछ । आयोजनाको अनुगमन र विश्लेषण गरीसकेपछि आयोजनाको उद्देश्य पूर्तीको लागि सुझाव दिने गरिन्छ ।

सक्रिय तुल्याउनु
शैक्षिक प्रशासनले अनुगमन गर्ने र सुझाव दिने मात्र गर्दैन, यसले नयां नया“ योजनाहरुको अध्ययन गरि गराई त्यसको आधारमा नयां नयां कार्यक्रम सञ्चालनको लागि सक्रिय गराउने गर्दछ । शिक्षण सिकाईमा नयां नयां सन्भावनाहरुको सम्भाव्यता अध्ययन गर्ने गरिन्छ ।

खोज्नु
सञ्चालित भइरहेका कार्यक्रम र आयोजनाहरुमा कुनै व्यवधानहरु भए त्यसको खोजी गर्नु शैक्षिक प्रशासनको उद्देश्य भित्र पर्दछ । यसले अनुसन्धान र कार्यक्रमको पुनः आयोजना गर्न सहयोग हुन्छ । शैक्षिक प्रशासन आफैमा निरन्तर प्रक्रिया भएको कारणले पनि यसको निरन्तर अनुसन्धान भइरहनु पर्दछ, जसले शैक्षिक गतिविधिहरमा नयां नयां प्रविधिहरुको प्रयोग गर्न सहयोग गर्दछ ।

नेतृत्व गर्नु
शैक्षिक प्रशासन दैनिक कार्य संचालन मात्र हेइन, यो त कुशलतापूर्वक आयोजनाहरुको व्यवस्थापन पनि हो । यो विज्ञान र कला दुवै हो । यसको लागि समुहहरुको नेतृत्व गरी तोकिएको लक्ष हासिल गर्ने गरिन्छ । यसको लागि उचित निर्देशन र तत्परताको जरुरी हुन्छ । असल नेतृत्वले नै शैक्षिक गतिविधिहरुको सञ्चालन सहज गराउंछ र उपलव्धि हासिल गर्दछ ।

सहयोग गर्नु
शैक्षिक प्रशासन त्यतिवेला सफल हुनसक्छ, जतिवेला यसले आवश्यक सहयोग पाइरहन्छ । उसलाई आवश्यक सहयोग र निर्देशन आवश्यक परेको वेलामा पाए मात्र तोकिएको लक्ष समयमा नै पूरा हुन सक्दछ । यदी राम्रोस“ग सञ्चालन र नियन्त्रण गर्ने हो भने उचित मूल्यांकन पनि गरिरहनु पर्दछ ।

शैक्षिक प्रशासनको क्षेत्र
शैक्षिक प्रशासनको क्षेत्र वृहद छ । यसले शिक्षण सिकाईको लागि हुने सबै किंसिमका गतिविधिहरुलाई समेट्छ ।

१) योजना
भविश्यको लागि वनाइने गतिविधिको विवरण नै योजना हो ।अनावश्यक प्रयत्नहरुलाई कम गर्न योजना बनाइने गरिन्छ ।
योजनामा:
उद्देश्य निर्धारण गरिन्छ
स्रोतको उचित प्रयोग हुन्छ,
खेर नजाने व्यवस्था हुन्छ,
क्रमिक कार्यान्वयन हुन्छ,

नेपालको अवस्था हेर्दा निम्नानुसारको संस्थाहरुमा शैक्षिक प्रशासन लागू हुन्छ:
सरकारी र निजी विद्यालयहरु
प्राविधिक क्याम्पसहरु
विशेष शिक्षाका क्याम्पसहरु
सरकारी र निजी विश्वविद्यालयहरु
शैक्षिक स्रोत केन्द्रहरु
जिल्ला शिक्षा कार्यालयहरु, क्षेत्रीय शिक्षा कार्यालयहरु
शिक्षा मन्त्रालयहरु, शिक्षा विभागहरु
र यससँग सम्बन्धित सबै संस्थाहरु जसले शिक्षण सिकाईलाई सहयोग पुर्याउंछन् ।

२) वजेट तयार गर्नु
संस्थाको सञ्चालनको लागि वजेटको महत्वपूर्ण योगदान रहेको हुन्छ । प्रशासनले सर्वप्रथम वजेटको योजना बनाउनु पर्दछ । आर्थिक सुरक्षाको लागि अनुमानित खर्च र आम्दानीको विवरण प्रस्तुत गर्नु नै वजेट हो ।

३) संगठन गर्नु
संगठन गर्नु प्रशासनको महत्वपूर्ण पाटो हो । यो कार्यक्रमको उद्देश्य पूर्तीको लागि व्यवस्थित रुपमा गरिने व्यवस्था हो । यसमा दुई किसिमका सामानको व्यवस्था गरिएको हुन्छ ।
क) भौतिक सामान
ख) मानवीय सामान
भौतिक साधन भन्नाले भवन, फर्निचर, पुस्तकालय, प्रयोगशाला, म्युजियम, खेल मैदान, श्रव्य दृश्य सामग्री भन्ने बुझिन्छ । यी सबै समानहरुलाई वैज्ञानिक रुपले व्यवस्थित गर्नु पर्दछ । मानवीय संसाधन भन्नाले उच्च, मध्यम र निन्न तहको जनशक्ति भन्ने बुझाउंछ । यसमा विद्यार्थी शिक्षक, प्रमुख, पुस्तकालय, लेखा र प्रशासनका कर्मचारीहरु पर्दछन् । यी सबै जनशक्तिहरुको उचित व्यवस्थापन गर्नु पर्दछ ।

वृहद रुपमा भन्नुपर्दा शैक्षिक प्रशासनको कार्यक्षेत्र निम्नानुसारको हुन्छ ;
– पाठ्यक्रम तयार गर्नु
– शैक्षिक कृयाकलाप सञ्चालन गर्न
– अतिरिक्त कृयाकलाप सञ्चालन गर्नु
– शिक्षक,कर्मचारीलाई कार्य विवरण प्रदान गर्नु
– पुस्तकालय र प्रयोगशाला निर्माण गर्नु
– स्वास्थ्य र शारिरिक कृयाकलाप सञ्चालन गर्नु
– क्यान्टिन र छात्रावास सञ्चालन गर्नु
– परीक्षा तालिका निर्माण र परीक्षा सञ्चालन गर्नु
– विद्यार्थीहरुलाई सल्लाह दिने र सहयोग गर्ने व्यवस्था मिलाउनु
– सामाजिक कार्यक्रम सञ्चालन गर्नु
– खाजा, पुस्तक, लुगाको व्यवस्था गर्नु
– आर्थिक व्यवस्थापन गर्नु

समग्रमा भन्नुपर्दा विद्यार्थीको सिकाइ कार्यक्रमलाई सहयोग गर्नेगरी गरिने सबै किसिमका गतिविधिहरुलाई शैक्षिक प्रशासनले समेटेको हुन्छ । सफल शैक्षिक प्रशासन विना गुणस्तरिय शिक्षाको अपेक्षा गर्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्