शिवरात्रिका लागि पशुपति क्षेत्रमा सफाइ
काठमाडौं, ४ फागुन । वाग्मती सफाइ महाअभियानको ३५३ औँ हप्तामा महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको आर्यघाट, सूर्यघाट, राममन्दिर लगायत क्षेत्रमा सफाइ गरिएको छ ।
सफाइमा १८ संस्थाका ३०० जनाभन्दा बढी अभियानकर्मी सहभागी भएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन् । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा सफाइमा सहभागी भएका थिए । वैदिक सनातन हिन्दू धर्मावलम्बीको पर्व महाशिवरात्रिका अवसरमा कोष लगायत स्थानीय संस्थाको सक्रियतामा एक हप्ता अघिदेखि नै दैनिक सफाइ अभियान समेत चलिरहेको छ ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइ पनि महाशिवरात्रिका लागि वाग्मतीको पानी कञ्चन देखाउन केन्द्रित भएको छ । विष्णुमती, वाग्मतीको तिलगंगा र सुन्दरीघाट, चक्रपथको उत्तरी भेगमा पनि सफाइ गरिएको थियो । वि.सं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई उपत्यका लगायत देशभर १०६ स्थानमा सफाइ भइरहेको छ ।
