कोरोना आतंक : मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
बेइजिङ, ७ फागुन । कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा मृत्यु हुनेहरुको सङ्ख्या २ हजार १ पुगेको छ । हालसम्म चीन बाहिर ४ जनाको मृत्यु भएको छ । यो समेत गरि २ हजार ५ जनाको मृत्यु कोरोनाकै कारण भएको छ ।
गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मंगलबार पनि १३२ जनाको मृत्यु भएको थियो । गत आइतबार सो भाइरसका कारण १०० व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी सोमबार यस भाइरसको सङ्क्रमणका कारण ९८ जनाको मृत्यु भएको एपी समाचार समितिले मङ्गलबार जनाएको छ ।
कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक उहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेका जनाएको छ । उनलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाई छ ।
उनी कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन् । यही प्राणघातक जीवाणुका कारण उहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७१६ जना सङ्क्रमित भएका छन् । यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने उहानकै नेत्ररोग विशेषज्ञ डा ली वेनलियाङको मृत्यु भएको थियो ।
उहानका चिकित्सकहरूले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताइन्छ ।
रासस /एपी
