सर्वोच्चको कागजात किर्ते गरेर सार्वजनिक जग्गा बेच्न खोज्ने सातजना पक्राउ
बारा, ७ फागुन । सरकारी कागज, छाप र दस्तखत किर्ते गरी सार्वजनिक जग्गा हडप्न खोज्ने सातजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्वोच्च अदालतका अवकाशमा गइसकेका नायब सुब्बासहित सातजना रहेका छन् ।
अनुसन्धान प्रक्रियामा रहेको बाराको जितपुर-सिमरा-२३ को साविक कित्ता नम्बर ६१ को एक बिगहा १० कठ्ठा सार्वजनिक जग्गा काठमाडौं निवासी प्रधुम्नराज पाण्डेको नाममा दर्ता गर्न सर्वोच्च अदालतको अभिलेख शाखाको कागज किर्ते गरेको अभियोगमा प्रहरीले सर्वोच्च अदालतका निबर्तमान नायब सुब्बा हस्तबहादुर नेपालीलाई पक्राउ गरेको हो ।
त्यही प्रकरणमा संलग्न बारा महागढीमाई नगरपालिका-८ का वोहाव अन्सारी, बारा कलैयाका प्रह्लादप्रसाद रेग्मी र कैलाली जिल्ला गोदावरी नगरपालिकाका चन्द्र बहादुर सिंहलाई समेत प्रहरीले पक्राउ गरेको हो । चारैजनाको मिलेमतोमा सर्वोच्च अदालतको कागज किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रहरीको भनाई छ ।
पथलैया- वीरगञ्ज औधोगिक करिडोरको मुल सडकसँग जोडिएको बाराको करोडौँ मूल्य पर्ने सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराउन अवैध काम गर्दै आएका पाण्डेले सर्वोच्च अदालतकै कर्मचारीलाई समेत प्रभावमा पारी २० बिगहा बहुमूल्य जग्गा आफ्नो नाममा दर्ता नै गराइसकेका छन् ।
सरकारी कागज र छाप किर्ते गरी जितपुर-सिमरा वडा नम्बर-२ स्थित ज्ञानेश्वरी थपलियाको नाममा रहेका जग्गा बेचबिखन गरेको अर्को मुद्दामा प्रहरीले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-का बलराम रौनियार, पर्सा बहुदरमाई नगरपालिका २ बस्ने सलिम मियाँ र सोही ठेगाना बस्ने अर्का सुनिल कुमार यादवलाईसमेत पक्राउ गरेको हो ।
पक्राउ परेका सर्वोच्चका निवर्तमान सुब्बासहितका सातै जनालाई प्रहरीले म्याद थप गरी सरकारी कागज किर्ते मुद्दामा कार्यवाही चलाएको छ । ईलाका प्रहरी कार्यालय बारा सिमराले पत्रकार सम्मेलन गरी सरकारी कागजपत्र किर्ते गर्ने सर्वोच्चका निर्वतमान कर्मचारी नेपालीसहित ७ जनालाई सार्वजनिक गरेको हो ।
