मेयरद्वारा किसानमाथि आक्रमण : महागढीमाईमा तनाव
काठमाडौं, १२ फागुन । फेसबुकमा मेयर उपेन्द्र यादवको भिडियो पोस्ट गर्ने युवकका बुबा हरेन्द्र महतो कोइरीमाथि कुटपिट र दुव्र्यवहार भएपछि जिल्लाको महागढीमाई नगरपालिकामा दुई पक्षबीच एक साताअघिबाट शुरु भएको तनाव अझै साम्य भएको छैन ।
घटनापछि एउटाले अर्को पक्षलाई विपक्षी बनाएर प्रहरीमा जाहेरी दिएका छन् भने कारबाहीको माग गर्दै प्रदर्शन र जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन जाने क्रम दिनहुँजसो हुँदै आएको छ ।
भिडियो पोस्ट गरेको आरोपमा कोइरीका छोरा मुकेश कुवाहामाथि पनि कुटपिट भएपछि नगरमा दुई पक्षबीचको तनाब थप बढेको छ। कोइरीले भेदभाव तथा अपमानजन्य कसुरमा मेयर यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएपछि मुकेशमाथि गत बिहीबार सांघातिक आक्रमण भएको थियो ।
मेयर यादवका मान्छेको कुटपिटबाट गम्भीर घाइते उनको काठमान्डौंमा उपचार भइरहेको छ भने सोही घटनामा मेयर यादवका गाडी चालक साहेबप्रसाद यादव, स्वकीय सचिव साजन गुप्ता, सुचेन्द्र बैठा, धिरेन्द्र लहेरालगायत पनि घाइते भएको बताइएको छ।
मुकेशले मेयर यादवका मान्छेहरुविरुद्ध ज्यान मार्ने उद्योगमा र मेयर यादवले पनि उनीमाथि अभद्र व्यवहारसम्बन्धी र मेयरका मान्छेले पनि ज्यान मार्ने उद्योगमा अर्को जाहेरी दिएका छन ।
समाचारपत्र
