Logo

अलपत्र १ सय २७ सरकारी कर्मचारी



्काठमाडौं, १२ फागुन । संघीय मन्त्रालयको बदमासीका कारण लोकसेवा आयोगको परीक्षा पास गरेका १ सय २७ जना नयाँ कर्मचारी तीन महिनादेखि अलपत्र परेका छन् । स्थानीय तहलक्षित आवश्यक कर्मचारी भर्नाका लागि आयोगको परीक्षा पास गरेर कामका लागि सम्बन्धित कार्यालय पुगेका उनीहरूले तीन महिनादेखि तलब त परको कुरा हाजिर समेत गर्न पाएका छैनन् ।

स्थानीय तहमा रिक्त पदको आधारमा लोकसेवा आयोगले एकैपटक सम्बन्धित तहका लागि विभिन्न पदमा १० हजारभन्दा बढीको सूचना गरेको थियो । सोहीअनुसार आयोगको परीक्षा पास भएर उसकै सिफारिसमा उनीहरू कार्यालयमा हाजिर हुन पुगेका थिए । तर त्यसअघि नै संघीय मामिला मन्त्रालयले कर्मचारी समायोजनका क्रममा कर्मचारी पठाएपछि नयाँ नियुक्ति पाएकाहरू अप्ठेरोमा परेका हुन् । रिक्त स्थानमा पदपूर्तिका लागि परीक्षा भएको जान्दाजान्दै अरू कर्मचारी पठाएपछि हाजिर हुन वञ्चित बनेका उनीहरू दिनहुँजसो संघीय मन्त्रालयमा धाइरहेका छन् । तर संघीय मामिला मन्त्रालय उनीहरूलाई मन्त्रालयमा हाजिर गराउन अस्वीकार गर्दै आएको छ भने सम्बन्धित स्थानीय तहले पनि आफूलाई आवश्यक पर्ने पदपूर्ति भइसकेकाले थप जिम्मेवारी लिन नसक्ने बताउँदै आएको छ ।

तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले भने लोकसेवा आयोगले भर्ना गरेका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले कुनै पनि कारण देखाएर फिर्ता गर्न नपाउने बताउँछन् ।

लोकसेवा आयोगले गत असारदेखि स्थानीय तहकका लागि नौ हजार एक सय ६१ पदमा कर्मचारी भर्ना लिन प्रक्रिया सुरु गरेको थियो । स्थानीय तहले पठाएको सिफारिसको आधारमा आयोगले नयाँ भर्ना लिन सुरु गरेको थियो । तर आयोगले नयाँ कर्मचारी भर्ना प्रक्रिया अघि बढाइरहेको बेला सामान्य प्रशासन मन्त्रालयले समायोजनमा परिमार्जन गर्दै रिक्त दरबन्दीमा छुट्टै कर्मचारी पठायो ।

यसअघि सामान्यले समायोजन गरी पठाएका करिब एक सय कर्मचारीलाई सम्बन्धित स्थानीय तहले हाजिरी नगराई फिर्ता पठाएका थिए । त्यस्ता कर्मचारीको हकमा करिब करिब व्यवस्थापन भएको मन्त्रालयले जनाएको छ । नागरिक

प्रतिक्रिया दिनुहोस्