Logo

जिम्मेवारीको कारण हुने तनाव कसरी कम गर्ने ?



व्यावहारिक जीवनमा मानिसलाई हरेक किसिमका जिम्मेवारी आउँछन्, जस्तै– अफिसको काम, घरव्यवहार, पढाइ आदि । यी कामको जिम्मेवारीले मानिसलाई सधैँ थिचिरहेको हुन्छ । यसैकारण उनीहरूको व्यक्तिगत जीवन अस्तव्यस्त भएको हुन्छ । त्यसैले त भनिन्छ, ‘आफ्नो कामअनुसार कोही पनि मानिस तनावमुक्त हँुदैन ।’ प्रत्यक्ष–अप्रत्यक्ष रूपमा आएका यस्तै तनावले गर्दा आजकल मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर परिरहेको हुन्छ । यद्यपि, यस्ता तनावलाई नियन्त्रण गर्न भने सकिन्छ ।
कसरी नियन्त्रण गर्ने ?

१. संगठित रहनुहोस्
हरेक दिन उठ्नेबित्तिकै आज सामान्य दिन हो भन्ने सोच्नुहोस् र आफूलाई सहज बनाउनुहोस् । बिस्तारै आफ्नो दैनिकीमा अभ्यस्त हुनुहोस् । सामान्यतया केही काम गर्नुभन्दा अघि त्यसका कठिनाइबारे धेरै सोच्ने गर्नाले तनाव सिर्जना भइराखेको हुन्छ । तसर्थ, पछि गर्ने कामबारे अघि सोचेर समय बर्बाद नगर्नुहोस् । दिनभरिमा गर्नुपर्ने कामको लिस्ट बनाउनुहोस्, सहज ढंगले काम गर्नुहोस् । जसले सहज फिल गराउँछ ।

२.सधैँ सकारात्मक सोच्नुहोस्
हरेक काम गर्नुभन्दा पहिला राम्रो नतिजाको अपेक्षा राख्नुहोस् । आफ्नो मनमा नकारात्मकता हटाउँदासमेत आधा कामको नतिजा सही हुन्छ । आफूले गर्नुपर्ने काममा ध्यान केन्द्रित गर्नुहोस्, जसले आत्मविश्वास बढाउँछ । पहिला भएका गल्तीलाई तनावका रूपमा नलिई केही नयाँ सिक्ने अवसर ठान्नुहोस् । यसले कामप्रति लगाव ल्याउँछ । र, सकारात्मक नतिजा हात पार्न सकिन्छ ।

३.द्वन्द्व समाधान गर्नुहोस्
काम गर्ने क्रममा सहकर्मी वा अन्य स्टाफसँगको संघर्षका कारण तनाव भइरहेको हुन हुन्छ । नजानेरै कुरा बिग्रिरहेको हुन्छ । त्यसैले उनीहरूसँग सञ्चार गर्नुहोस् । खुलेर आफ्ना कुरा राख्नुहोस् । यसले अफिसको वातावरणलाई सहज बनाउन मद्दत गर्छ । समस्या हल गर्न मद्दत गर्छ ।

४.‘हुँदैन’ भन्न सक्नुहोस्
पक्कै पनि हामी सबैसँग मैत्रीपूर्ण व्यवहार गर्न मन पराउँछौँ । सम्बन्ध राम्रो बनाउनकै लागि आफन्त, साथीभाइ र घरपरिवारले दिने अनाश्यक तनाव झेलिरहेका हुन्छौँ । आफूबाट नहुने काम पनि ‘नाइँ’ भन्न नसक्नाले समस्या सिर्जना हुने गर्छ । यसर्थ, तनावबाट बच्ने हो भने मन नपरेको काममा ‘हुँदैन’ भन्न सक्नुपर्छ ।

५.आफ्नो लागि समय छुट्याउनुहोस्
अफिसियल कामको व्यस्तता, घरपरिवार, आफन्त आदि कारणले हामी आफ्नो लागि समय छुट्याउन सकिरहेका हँुदैनौँ । यस्तो हुँदा हाम्रो दिमाग शान्त हुन सकेको हुँदैन । तसर्थ, फुर्सदको समय मिलाएर एक्लै कतै घुम्न जाने, किताब पढ्ने, स्पा जाने, फिल्म हेर्ने, संगीत सुन्ने, एकान्तमा बस्ने आदि गर्नाले राहत मससुस हुन्छ । यस्ता कार्यले तपाईंलाई आफ्नो बारेमा केही सोच्ने समय दिन्छ । र, स्वतः तनाव नियन्त्रण हुन्छ ।

६.स्वस्थ खानेकुरा खानुहोस्
स्वस्थ खाना खानु पनि तनाव कम गर्ने सहज उपाय हो । खानाको प्रत्यक्ष सम्बन्ध मस्तिष्कसँग हुन्छ । तसर्थ, सन्तुलित र पौष्टिक तŒवयुक्त आहारले तनाव हटाउन मद्दत गर्छ । पेयपदार्थ, गाढा चकलेट आदि समेत खान सकिन्छ ।

७. पर्याप्त निदाउनुहोस्
तनावरहित हुन खानासँगै पर्याप्त निद्राको पनि आवश्यकता छ । निदाउँदा मस्तिष्कले आराम गर्न पाउने भएकाले तनाव कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्