Logo

मेरो लोकसेवा प्रवेश, आफैलाई विस्वास थिएन



२०५८ सालमा चितवनको लक्ष्मी माध्यमिक विद्यालयबाट एस.एल.सी। परिक्षा उत्तिर्ण गरेपछि प्लस टु मा विज्ञान पढेको भएपनि स्नातक तहमा कानून लिएर पढे। २०६५ सालमा काठमाण्डौ स्कुल अफ ल बाट पाँच वर्षे एल.एल.बी. सकेपछि स्विजरल्याण्डको जेनेभा विश्वविद्यालयबाट मानव अधिकार कानूनमा स्नातकोत्तर गरे। स्कुलमा राम्रै विद्यार्थी थिए। कहिल्यै दोस्रो हुन परेन।कलेजमा पनि राम्रै विद्यार्थीमा पर्दथे। एल.एल.बी.को अन्तिम नतिजा प्रकाशित भएको केही दिनमै न्याय सेवाको शाखा अधिकृत पदमा लोकसेवा आयोगले विज्ञापन गर्‍यो। त्यसले गर्दा तयारी गर्ने समय निकै कम थियो। 
करिव दुई महिनाको मिहेनतमा पहिलो पटकनै न्याय सेवा अन्तर्गत न्याय र कानून गरि दुई समुहमा नाम निस्कियो।पहिलो अन्तर्वाता न्याय समुहको भएकोले त्यहीको नियुक्ति लिई पुनरावेदन अदालत हेटौडा, न्याय परिषद सचिवालय तथा सर्वोच्च अदालतमा करिव ६ वर्ष काम गरेपछि उपसचिवको परिक्षामा सम्मिलित हुने मौका मिल्यो।
उपसचिवको लिखित परिक्षामा पाँच ठाँउमा नाम निस्केकोमा न्याय समुहनै मेरो रोजाईमा पर्‍यो र न्याय समुहको खुल्ला तर्फ एक नम्वरमा नाम निकाल्न सफल भए । यसरी २०७३ सालमा ३० वर्षको उमेरमा म न्याय सेवाको उपसचिवमा नियुक्त भै हाल सर्वोच्च अदालतमा कार्यरत छु।

सरकारी सेवामा प्रवेश
बुवा पनि सरकारी सेवामा भएकोले निजामती सेवा तथा लोकसेवाको परिक्षा सम्बन्धमा स्कुले विद्यार्थी हुँदादेखीनै जानकार थिए।तर पनि पढाई सकेपछि यही क्षेत्रमा लाग्छु भन्‍ने स्पस्ट योजना थिएन । स्नातक तहको परिक्षा सकेपछि रोजगारी खोज्दै गर्दा यता आइपुगे । हालसम्मको अनुभव राम्रै छ । क्यारियर आफ्नो ठाँउमा छ, मुख्य कुरा सरकारी तलव खाएर राष्ट्रसेवा गर्ने अवसर पाउनु हो ।

यसरी गर्थे परिक्षाको तयारी
शाखा अधिकृतको परिक्षा दिदा ममा त्यती परिपक्वता आइसकेको थिएन जस्तो लाग्छ । बजारमा किनेको केही किताव कण्ठ बनाउने बाहेक मैलै खासै परिक्षाको रणनिति बनाएको थिइन । समय पनि निकै कम थियो । पछि उपसचिवको परिक्षा दिने बेलामा चाही पढाइलाई अलि वढी व्यवस्थित बनाए जस्तो लाग्छ । बजारमा उपलव्ध प्राय सवै पुस्तकहरु संग्रह गरेर राखेको छु । त्यसैको आधारमा वर्षदिन अगाडी देखिनै आफ्नो अलग टिपोट बनाएर राखेको थिए ।

आफैले घरमा पुराना प्रश्नहरुको समाधान पनि गरे ।अदालतमा पनि इजलास सहायकको रुपमा फैसलाको मस्यौदा तयार गर्नुपर्ने भएकोले लेखाई परिष्कृत भएको महशुश भयो । उपसचिवको तयारी गर्दा कोचीङ्ग कक्षा भर्ना भएपनि कार्यव्यस्तताले गर्दा पुरा गर्न सकिन तर पनि पढाई निरन्तर भएकोले खासै समस्या भएन । मुख्य कुरा पढाईलाई निरन्तरता दिन सक्नु रहेछ ।

वाध्यता भन्दा पनि रुचीमा र शोखमा वदल्न सक्नुपर्छ। हाम्रोमा परिक्षाको समयमा मात्र किताव खोल्ने परम्परा छ जसले गर्दा परिक्षाको समयमा निकै तनावको महशुश हुन्छ । त्यसैले पढाइलाई निरन्तरता दिन सक्नुपर्छ । पढ्ने कार्यलाई जिवन शैलिकै रुपमा विकास गर्नुपर्छ ।

पढाइको तरिका
लोकसेवा आयोगको तयारी गर्दा सर्वप्रथम लोकसेवा आयोगको परिक्षा दिई निजामती सेवामा प्रवेश गर्ने कार्य आफ्नो रुचीको विषय हो वा होइन भन्‍ने कुरामा प्रष्ट हुनुपर्छ । यो क्षेत्र आफ्नो रुचीको विषय हो भनी अन्तर आत्माले भनेमा मात्र तयारीमा लाग्नु उयपुक्त होला ।

परिवारको दवाव वा साथीभाइको लहैलहैमा परिक्षाको फारम भर्ने र परिक्षा दिएजस्तो गर्ने कार्यले समय मात्र वर्वाद गर्छ । लोकसेवामा परिक्षा दिनु आफ्नो रुचीको क्षेत्र हो भन्‍ने कुरा अन्तर आत्मामा लागेमा आफुले जुन तहको परिक्षा दिन लागेको हो सोको पाठ्यक्रमको बारेमा गहिरो जानकारी राख्‍नुपर्छ ।

यसो गर्दा परिक्षाको लागि आवश्यक सामग्रीहरुको संकलन गर्न सहयोग पुग्छ भने तयारी प्रक्रियाले पनि निश्चित दिशा लिन सक्छ । वजारमा धेरै प्रकारको पुस्तकहरु आएकोले सही पुस्तकको छनौट गर्नुपर्छ । परिक्षाको सामग्री संकलन गरेपछि कसरी पढ्ने भन्ने बारेमा सर्वमान्य शुत्र छैन । पढ्ने आफ्नो आफ्नो तरिका हुन्छ र जुन तरिका अपनाउदा आफुलाई सहज महशुश हुन्छ त्यही तरिका अपनाउनु पर्छ ।

अरुको पढ्ने तरिका नक्कल गर्न खोज्दा झन् समस्या हुन सक्छ । यसरी संकलित सामग्रीहरु परिक्षाको मिति भन्दा कम्तिमा एक महिना अगाडी पढी सकेमा सजिलो हुन्छ । यसरी पढि सकेपछी बाँकि समयमा पुराना प्रश्नहरुको समाधान गरी अभ्यास गरेमा परिक्षाको समयमा आत्मविश्वास वढ्ने मेरो अनुभव रहेको छ ।

अन्त्यमा
परिक्षामा सफल हुनको लागि लगनशिलता र निरन्तरतानै मुख्य कुरा हो । एक दुई पटक असफल भइयो भन्दैमा धैर्यता गुम्न दिनु हुँदैन । लोकसेवा परिक्षामा उत्तिर्ण भएको भन्दैमा उसँग असामान्य क्षमता छ भन्ने होइन । निरन्तरको अध्ययनले ‍औषत मानिस पनि परिक्षामा सफल हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्