Logo

विश्वकप छनौट : नेपाल सधैं कमजोर, फेरि कठिन समूहमा




कतारमा सन २०२२ मा हुने फिफा विश्वकप फुटबलमा नेपालले पनि छनोट खेल्दैछ । एसिया महादेशको बुधबार सार्वजनिक भएको ड्र मा ८ समूहबाट ३२ टिम छन् । जसमा समूह बीमा रहेको नेपाल सबैभन्दा कमजोर देखिएको छ । यो समूहमा अष्ट्रेलिया सबैभन्दा बलियो टोली हो ।


अष्ट्रेलिया फिफा वरियतामा ४३ औं स्थानमा छ । जोर्डन ९८ औं, चाइनिज ताइपेइ १२५, कुवेत १५६ र नेपाल यो समूहमध्ये सबैभन्दा पुछारमा अर्थात् १६५ औं स्थानमा छ । समूहमा शीर्ष दुई पर्न सफल भएमात्र नेपाल छनोटमा अघि बढ्न सक्नेछ । अंक तालिकामा उत्कृष्ट तीनमा पर्ने देशहरु पनि अगाडि जान सक्नेछन् । तर यसका लागि अंक राम्रो हुनुपर्नेछ । आगामी भदौको तेस्रो सातादेखि छनोट चरणका खेल सुरु हुनेछन् । प्रत्येक टिमले होम र अवे गरी दुई–दुई खेल खेल्नेछन् ।
यस्तो छ नेपालको इतिहास
नेपालले यस अघि विभिन्न विश्वकप छनोटका गरी ३० खेल खेलिसकेको छ । जसमा नेपालको हात पारेको जित संख्या जम्मा चार छ । ४ बराबरी नै खेल्दा २२ खेलमा नेपालले सहज रुपमा पराजय बेहोरेको छ ।
३० खेलमा एक सय गोल खाँदा नेपालले जम्मा २२ गोल मात्रै गरेको छ । नेपालले २००२ को विश्वकप छनोट अन्तर्गत २००१ मा मकाउलाई ४–१ र ६–१ पराजित गरेको थियो । २०१४ को विश्वकप छनोट अन्तर्गत २०११ इस्ट टिमोरलाई २–१ र ५–० हराएको थियो । नेपालले विश्वकप छनोटका ३० खेलमा जित हात पारेको यही चारपटक हो । यो एएफसी एसियन कप २०२३ को छनोट खेल पनि हो ।

प्रतिक्रिया दिनुहोस्