प्रधानमन्त्री रोजगार कार्यक्रमको हिसाब किताब मागियो
साउन १०, काठमाडौ । सरकारले सबै स्थानीय तहहरुसँग प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च विवरण माग गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार परिपत्र गर्दै उक्त कार्यक्रमको शीर्षकमा अहिलेसम्म भएको खर्चको विवरण माग गरेको हो । खर्च विवरणसँगै प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रगती विवरण पनि माग गरेको छ ।
मन्त्रालयले खर्च विवरण पठाउँदा तलब, स्थानीय भत्ता, कार्यक्रम खर्च, विविध, अनुगमन, कार्यालय संचालन खर्चमध्ये कुन शीर्षकमा कति खर्च भएको खुलाउन भनेको छ । यस्तै कुनै काम गरेको र त्यसको ज्यालामा लगानी भएको भए त्यो कामको विवरण पनि खुलाउन भनेको छ । यस्तै निर्माण सामाग्री खरिद, हाते औजार खरिदमा भएको लगानी पनि खुलाउन नमूना फर्म नै तयार पारेर सर्कुलर गरेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट जथाभावी खर्च भएको आलोचना भइरहेका बेला सरकारले सबै स्थानीय तहसँग विस्तृत खर्च विवरण माग गरेको हो ।
