सरकारी सेवाप्रतिको मेरो दृष्टिकोण ”जहाँ रोपिन्छौ त्यही फूल फुलाउ”
सोच: ब्लुम ह्येरएभर यू आर प्लान्टेड“ अर्थात जहाँ रोपिन्छौ त्यही फूल फुलाउ

सरकारी सेवामा प्रवेश गर्नु मेरो सपना थिएन ।अन्तस्करणले खोजेको पेशाविद् हुने चाह, स्थायित्व सहितको दिगो जीवनयापनको सुनिश्चितता तथा सामाजिक पहिचानको खोजी र प्राप्ति सायद सरकारी सेवा नै थियो, फलस्वरुप एक वृत्ति अँगाल्ने क्रममा सरकारी सेवामा प्रवेश गर्न पुगियो ।अर्थात कुनै खास लक्ष्य वा ठूलो आकांक्षा र आशक्ति रहेन सेवा प्रवेशमा । कुनै ठोस योजनाबद्ध वृत्ति योजना अंगालेको पनि होइन् । तत्काल उपलब्ध विकल्प मध्ये उत्तम विकल्पको छनोट गरिएको मात्र हो जुन हाल पनि जारी छ ।” ब्लुम ह्येरएभर यू आर प्लान्टेड” अर्थात जहाँ रोपिन्छौ त्यही फूल्नुपर्छ भन्ने एक विद्वानको भनाईलाई आफ्नो अभिष्ट र जीवन मान्यताको रुपमा लिई अगाडि बढेको ठानेको छु।
व्यवसायिक रुपमा सरकारी सेवा प्रतिको मेरो भिजन तीनवटा विश्वासहरुबाट निर्देशित रहेका छन् भन्ने लाग्दछ । पहिलो इमान्दार प्रयास, दोश्रो जोखिम बहन र तेश्रो फराकिलो सोच ।यी र यस्तै अन्य कर्मोन्मुख व्यवहार व्यक्तित्व विकास र नेपालको सार्वजनिक प्रशासनलाई नतिजाकेन्द्रित र जनअपेक्षित तुल्याउन आवश्यक पर्दछ । एक्लै बसेर ‘आँखा चिम्ली हेर्दा’ आफैलाई हिनतावोध नहुने कर्म र यदि भएको भए त्यस्तो कर्म भविष्यमा सदाको लागि परित्याग गर्ने कृतसंकल्प एक कर्मचारीको जीवन दर्शन बन्नु पर्दछ भन्ने लाग्दछ ।नतिजा र यसको प्रभाव एक सरकारी वेतनधारीको बशमा नहोला तर नागरिकको सुख र समृद्धि निर्माणमा महत्वपूर्ण योगदान पुग्ने गरी क्रियाशील रहन जरुरी छ । अर्थात सरकारी सेवाले प्रदान गर्ने आत्मिक सन्तुष्टि सहितको पेशाविद् बन्ने र राष्ट्रसेवाको माध्यमद्वारा विकासमा योगदान गर्ने अवसरको अधिकतम उपयोग गर्ने गरी हाम्रा सोच र कर्म परिलक्षित गर्न सक्नु पर्दछ ।
दृष्टिकोण: वृत्ति, सेवा र शासनको त्रिवेणी
सरकारी सेवाका हालसम्मको अनुभवमा यसलाई हेर्ने, बुझ्ने र अभ्यास गर्ने फरक फरक शैलीहरु देखिए ।प्राज्ञिक क्षेत्रमा समेत सरकारी सेवाको परिभाषा र कार्यशैलीका विषयमा विभिन्न सिद्धान्तहरु प्रतिपादित भएका छन् । सरकारी सेवा र कार्यरत कर्मचारीलाई निश्चित विधि र प्रक्रिया अवलम्वन गरी नतिजा वा उत्पादन गर्ने यान्त्रिक संयन्त्रको रुपमा पनि लिएको पाइन्छ । अर्कोतिर मानवीय पक्ष आत्मसात गर्ने आत्मिक शुद्धिकरण सहितको सेवामूलक र व्यवसायिक, जीवन्त प्रणालीको रुपमा पनि व्याख्या भएका छन् । प्राज्ञिक बहसलाई एकातिर राखेर हेर्दा सरकारी सेवामा प्रष्ट छुट्टयाउन नसकिने कार्यशैली जुन स्थानीय भूगोल र सामाजिक परिवेशमा धेरै निर्भर रहेको पाइन्छ । संसारभरका सरकारी सेवामा रहेका धेरथोर सकारात्मक र नकारात्मक पक्ष नेपालको सरकारी सेवामा पनि रहेको छ । मात्रात्मक विश्लेषण फरक हुन सक्दछ ।विद्वान वा पेशाविद्हरुको दृष्टिकोण फरक फरक हुने भए तापनि मुलभूत रुपमा सरकारी सेवा राज्यको राजकीय सत्ताको अभ्यास गर्ने गराउने एक कानूनी वैधानिकता प्राप्त प्रणाली हो ।
एक कर्मचारीको दृष्टिले खुशी र गुनासोको मिश्रणयुक्त जीवन वृत्ति हो । कसैका लागि यो जागिर मात्र हो भने कसैका लागि काम, पद र प्रतिष्ठा बढि हो । मेरो दृष्टिकोणमा सरकारी सेवा यी सबै अवयवको सम्मिश्रण हो ।
जनताको नजरमा सरकार हो भने राजनीतिक सत्ताको लागि ज्ञानेन्द्रिय र कर्मेन्द्रिय दुवै हो सरकारी सेवा । एक कर्मचारीको दृष्टिले खुशी र गुनासोको मिश्रणयुक्त जीवन वृत्ति हो । कसैका लागि यो जागिर मात्र हो भने कसैका लागि काम, पद र प्रतिष्ठा बढि हो । मेरो दृष्टिकोणमा सरकारी सेवा यी सबै अवयवको सम्मिश्रण हो । जेहोस, सरकारी सेवा एक कर्मचारीको जीवन सिक्काको अर्को पाटो हो। यो एक गर्विलो पेशा हो जहाँ सर्वसाधरण नेपालीको सन्तान मुलुक र समाजको लागि आफ्नो योगदान दिन पाउने र सक्ने स्थानमा रहन्छ । व्यवसायिकता र कार्यकुशलताको माध्यमबाट सार्वजनिक सुख, शान्ति, अमन चैन र विकासको फल प्रवाह गर्ने महत्वपूर्ण भूमिका रहेको हुन्छ। शुद्ध विचार, कर्तव्यपरायणता र उच्च कार्यसम्पादनका माध्यमबाट राज्यको नीति सार्वभौमसत्ता सम्पन्न जनतामा ‘डेलिभरी’ गर्ने अधिकार र सुविधा पाउनु सरकारी सेवाको सबैभन्दा ठूलो आकर्षण हो ।
पेशाविद्, सेवक र शासक बन्ने तीनै प्रकृतिको अवसर सरकारी सेवामा रहेको छ । राजनीतिक नेतृत्वले मूलत सोच, नीति र मार्गदर्शन प्रदान गर्दछ । यी सोच र चाहनालाई मूर्त रुप दिन आवश्यक नीति, योजना तथा कार्यक्रम तर्जुमा र यसको कार्यान्वयन क्षमताका लागि ठूलो विशेषज्ञताको आवश्यकता पर्दछ ।यसबाट सरकारी सेवा भित्रैबाट गण्यमान्य योजनाकार, नीतिवेत्ता, अर्थशास्त्री लगायतका पेशाविद्हरुको जन्म भएको पाइन्छ ।सुकिलो र सहज जीवन बृत्ति प्रदान गरेको छ सरकारी सेवाले व्यक्तिलाई । त्यसैगरी सेवा त यसको नाम नै हो । दुर्गम र पिछडीएका भूभागमा बस्ने मानवीय र आर्थिक सूचकमा ज्यादै कमजोर अवस्थामा रहेका नागरिक लगायत सबै नेपालीको सेवा गर्ने अवसर सरकारी सेवाले प्रदान गरेको छ ।शासन भन्ने शब्दको लुकेको भाव केही नकारात्मक सुनिए तापनि सकारात्मक अर्थमा प्रत्यायोजित विधायनको माध्यमबाट प्राप्त हुने अधिकारले शासकीय भूमिकामा सरकारी सेवालाई राखेको छ । सम्पूर्ण ‘गभर्नेन्स’मा प्रभावशाली भूमिका सरकारी सेवाको रहन्छ । यसरी निजामती सेवा वृत्ति, सेवा र शासनको त्रिवेणीको रुपमा रहेको छ ।
आध्यात्मिक दृष्टिकोणबाट हेर्दा सरकारी सेवा त्वदीयं वस्तु गोविन्दं तुभ्यमेव समर्पये नै हो । सार्वभौमसत्ता सम्पन्न जनताले दिएको राजनीतिक अधिकार र सम्पत्ति उनै जनता र मुलुकको हितमा परिचालन एवं व्यवस्थापन गर्ने जिम्मेवारी सवै सरकारी सेवाको हो । प्राकृतिक जन्म, पञ्चतत्व माथिको निर्भरता र अन्त्यमा यसैमा विलिन हुने चक्र जस्तै हो सरकारी सेवा, जहाँ र जे बाट जन्म्यो त्यही र त्यसकै लागि कर्म गर्ने र त्यसैमा समाहित हुने ।
भविष्य, अवसर र समस्या
सर्वसाधरण मानव भविष्यको चिन्ता गर्ने गर्दछ । सरकारी सेवामा भविष्य देखेका कर्मचारी सेवा कै भविष्यप्रति कति गम्भीर छन भन्ने एक अहम् प्रश्न रहेको पाइन्छ । अर्थशास्त्रको सामान्य नियम अनुसार लगानीले प्रतिफल निर्धारण गर्दछ । कम्पनीको मुनाफा र साखमा अभिबृद्धि भयो भने मात्र लाभांस पाउन सकिने हुन्छ । यही सामान्य बुझाइकै आधारमा पनि सरकारी सेवाको उत्पादकत्वमा नै सरकारी कर्मचारीको पनि हित निहित रहने तथ्यलाई आत्मसात गर्नु आजको आवश्यकता हो ।
दूरदराजको किसानलाई समयमै मल बीउ उपलब्ध गराउने वा नगराउने एक कर्मचारीको सोच र सम्पादनमा धेरै हदमा निर्भर गर्दछ । बलियो पूल र टिकाउ सडक बनाउने वा नबनाउने कर्मचारीको इमान्दार प्रयासमा धेरै हदमा निर्भर हुन्छ । यी त केही उदाहरण मात्र हुन । यहाँ मुलुकको विकास र समृद्धिको सारथी बन्ने अवसर केवल सार्वजनिक क्षेत्र र यसमा क्रियाशील कर्मचारी एवं विज्ञहरुमा निहित छ ।
राजनीतिक संक्रमणकालको अन्त्यसँगै प्राप्त उन्नत राजनीतिक व्यवस्था सहितको संविधानले नेपालको सार्वजनिक क्षेत्रको सुधारमा प्रशस्त सम्भावनाहरु ल्याएको छ । कति अवसरहरु टरेर गइसके कति आइरहेका पनि छन् । यी सबै अवसरको स्थायी कर्ता र करणी सरकारी सेवा हो । दूरदराजको किसानलाई समयमै मल बीउ उपलब्ध गराउने वा नगराउने एक कर्मचारीको सोच र सम्पादनमा धेरै हदमा निर्भर गर्दछ । बलियो पूल र टिकाउ सडक बनाउने वा नबनाउने कर्मचारीको इमान्दार प्रयासमा धेरै हदमा निर्भर हुन्छ । यी त केही उदाहरण मात्र हुन । यहाँ मुलुकको विकास र समृद्धिको सारथी बन्ने अवसर केवल सार्वजनिक क्षेत्र र यसमा क्रियाशील कर्मचारी एवं विज्ञहरुमा निहित छ । सरकारी सेवा र यस क्षेत्रको भविष्य यसको कार्यसम्पादनसँग प्रत्यक्ष जोडीएको हुन्छ । नतिजामा केन्द्रित काम कारबाही र स्वयं अनुभूत इच्छाशक्तिको माध्यमबाट नेपालको सार्वजनिक क्षेत्रलाई सुनौलो इतिहास लेख्ने अवसर छ अहिले ।
तर बिडम्वना, सरकारी सेवा परम्परागत समस्याहरु र नवीन चुनौतीहरुले घेरिएको छ । कानून र विधिको कमजोर परिपालना, सेवा प्रवाहमा अस्वभाविक लागत र गुणस्तर, भ्रष्टाचार, अनियमितता एवं नैतिक मूल्यको कमी, जिम्मेवारी र जवाफदेहीता प्रतिको उदासिनताले नेपालको सार्वजनिक क्षेत्र संक्रमित छ ।
सार्वजनिक क्षेत्र खास गरी सरकारी सेवामा रहेको जटिल संक्रमणको तत्काल निदान र उपचार जरुरी छ । यसका लागि गुण र दोषको परख, परम्परागत चाकडी र चाप्लुसीको अन्त्य र कार्यसम्पादनमा आधारित व्यवस्थापन अवलम्बन गर्नुपर्दछ। ‘परफर्मर’ र ‘ननपरफर्मर’को भेद छुट्टयाउन सक्नुपर्दछ र सोही बमोजिमको व्यवहार गर्नु आवश्यक छ । भोलिको भविष्य र व्यक्तिगत अभिलाषालाई केन्द्रमा राखी लाभको गणना गरेर निर्णय गर्ने व्यवहारको अन्त्य हुन जरुरी छ ।यसो हुन सके मात्र सरकारी सेवामा रहेको लुम्सोपना, असंवेदनशीलता, र सुधार प्रतिको शिथिलतालाई हटाई चुस्त, दुरुस्त एवं परिणाम र प्रभावमुखी तुल्याउन सकिन्छ । बजारका मेधावीहरुले भरिएको भनिएको सरकारी सेवाले ‘प्रणाली धान्ने’ काम मात्र गरेर पुग्दैन् । कार्यान्वयन स्तरमा खरो उत्रनु आवश्यक छ । सरकारी सेवाले प्रवाह गर्ने न्यूनतम ‘डेलिभरी’को सुनिश्चतता गर्न सकियो भने बल्ल यसको गुणात्मक र नवप्रवर्तनशील प्रवर्द्धनको ढोका खुल्दछ ।
सरकारी सेवामा रहेका तमाम विकृति र विसंगतिहरुको सूची जति लामो बनाए पनि यसको सुधारको विकल्प छैन । इमान्दार प्रयास, जोखिम बहन र फराकिलो सोचका साथ अघि बढनु जरुरी छ । असल शासन अपेक्षित ‘पब्लिक डेलिभरी’ मार्फत नागरिकको सुख र मुलकको समृद्धि हासिल गर्ने लक्ष्यको साधान सुधारिएको प्रशासन नै हो । अझ अर्को अर्थमा भन्दा सरकारी सेवाको सुधार मुलुकको विकास र नागरिकको खुसीको साधन हो । स्वस्थ र सबल प्रशासन विना जअपेक्षा बमोजिम कार्यसम्पादन गर्न नसकिने हुनाले तत्कालको लागि प्रशासनिक सुधार र शुद्धिकरण साध्य पनि बन्नु पर्ने देखिएको छ ।
मेरो प्रयास कार्यसम्पादनमा आधारित प्रोत्साहन, अवसर र सजाय सहितको प्रभावकारी र जनताबाट स्यावासी पाउने सरकारी सेवाको विकासमा केन्द्रित रहने छ र स्वभाविक रुपमा सम्बद्ध सबैसँग पनि त्यही अपेक्षा राखेको छु।
यी परिदृश्यहरुका बीचमा म आफ्नो भूमिका र योगदानलाई थप परिभाषित गर्दै लैजाने दिशामा क्रियाशील छु । नेपाल सरकारका विभिन्न निकायमा काम गर्ने क्रममा के नतिजा निकाले भन्ने विषय प्रणालीगत मूल्यांकनको विषय हो । तथापि सरकारी सेवामा कार्यसंस्कृतियुक्त मूल्य र प्रणाली विकास गर्ने प्रयासमा सक्रिय छु भन्ने विश्वास लिएको छु। निजामती सेवाको नेतृत्वमा पुग्ने सम्भावित अधिकृतको नाताले नेतृत्व विकास र क्षमता अभिबृद्धि अधिक महत्वपूर्ण छन्। यसबाट मुलुकको सरकारी सेवालाई सही दिशासहितको नेतृत्व प्रदान गर्ने सामर्थ्य पैदा हुन्छ । मेरो प्रयास कार्यसम्पादनमा आधारित प्रोत्साहन, अवसर र सजाय सहितको प्रभावकारी र जनताबाट स्यावासी पाउने सरकारी सेवाको विकासमा केन्द्रित रहने छ र स्वभाविक रुपमा सम्बद्ध सबैसँग पनि त्यही अपेक्षा राखेको छु।
अन्त्यमा, सकारात्मक सोच, रचनात्मक उर्जा र जनमैत्री व्यवहार मार्फत सुख र समृद्धि प्रवाह गर्न नेपालको सरकारी सेवा सफल रहने विश्वास व्यक्त गर्दछु ।
(नारायणप्रसाद शर्मा दुवाडी नेपाल सरकारका सहसचिव हुन् )
