के हो विद्युतीय वित्तीय सेवा ?

विद्युत मानवलाई प्राप्त एक बहुमूल्य, बहु उपयोगी वरदान हो । यो ईश्वरकै एक प्रत्यक्ष रुप हो। ईश्वरलाई खोज्न कतै जानु पर्दैन, सूर्यको उर्जा र पृथ्वीमा विद्यमान विद्युत हेरे पुग्छ । विद्युतको गतिले ईश्वरलाई नै स्मरण गराउँछ । पश्चिमा वैज्ञानिकहरुले निकालेको गणितीय हिसाबमा विद्युतले हाम्रो पृथ्वीलाई एक चक्कर लगाउन मात्र ० दशमलव १३४ सेकेन्ड लगाउँछ । पूर्वीय दर्शनले विद्युतको फरक ढङ्गले शोध गरेको छ । जसअनुसार मानव शरीरमा विद्यमान विभिन्न छ चक्रहरुमा प्रवाह हुने विद्युतको कुशल प्रयोग गरी ईश्वरीय तत्त्वसंग साक्षात्कारसमेत गर्न सकिन्छ । पछिल्लो समय पश्चिमा जगतले विद्युतको महत्त्व बुझ्दै गएको र भौतिक जीवनलाई सरल र सहज बनाउन सफल हुँदै गएको पनि छ ।
विद्युतमा भएको अथाह सम्भावना थाहा पाउने प्रारम्भिक चरणमा अहिले मानव सभ्यता रहेको भन्न सकिन्छ । स्मार्ट विद्युतीय उपकरणहरु प्रयोग गरी मानिस आफ्ना कार्यहरु सरल, सहज र छिटो गर्न तल्लीन छ । विद्युतको उपयोग गर्दै जीवन सरल बनाउन दैनिक नवीन खोजहरु भैरहेका छन् । पछिल्लो समय विकास भएको कम्प्युटर प्रविधि र यसको सहयोगले स्थापित गरेको वैश्विक संजाल सूचना र ज्ञानको भण्डार बनेको छ । इन्टरनेट मानव जीवनको अभिन्न अंग नै भैसकेको छ र इन्टरनेटसंग आएको विद्युतीय संजालले पृथ्वीलाई एक सानो गाउँका रूपमा विकसित गरिसकेको छ ।
पछिल्लो समय विद्युतीय संजालको प्रयोग गरी हुने विविध आदान प्रदानमध्ये वित्तीय सेवाहरुमा विद्युतीय संजालको प्रयोग एक नवीन खोजका रूपमा आएको छ । किन्ने र बेच्ने भौतिक रूपमा जति टाढा भएपनि भर्चुअल दुनियाँमा एकदम नजिक आएका छन् । लगानीकर्ताले आफ्नो पूँजी कहाँ लगाउने भन्ने कम्प्युटरमै बसेर हेर्दै लगानी गरिरहेको छन् । उत्पादकले आफ्ना उत्पादन संजालमा आबद्ध अरुको सहयोगले क्षणभरमा उपभोक्तासम्म पुर्याउने गरिरहेका छन् । व्यापारीहरु घरै बसी-बसी समानहरु खरीद बिक्री गरिरहेका छन् । बैंकहरुले आफ्ना ग्राहकलाई सेवा दिन लाईनमा लगाउन छाडीसके । विमान कम्पनीहरुले आफ्ना टिकट अनलाईनको जिम्मा लगाइ सकेका छन् । ठूला शहरहरुमा यात्रुहरुले ट्याक्सी खोज्दै हिंड्दैनन्, बरु ट्याक्सी नै सेवाग्राही अवस्थित ठाउं खोज्दै पुग्छन् । बहुराष्ट्रिय कम्पनीहरु विद्युतीय व्यापारद्वारा सेवाग्राहीले खोजेको समान र सेवा भनेको ठाउँमा पुर्याएर रातारात मालामाल भैरहेका छन् ।
वित्तीय सेवा क्षेत्रमा अहिले विद्युतीय माध्यमहरु, विद्युतीय साधन र संजालको प्रयोग अत्यन्त व्यापक र तीव्र गतिमा विस्तार हुँदै गैरहेको छ । विद्युतीय प्लेटफर्महरु प्रयोग गरेर धेरै बैंकहरु, बीमा कम्पनीहरु, व्यापारिक फर्महरू, सार्वजनिक क्षेत्रलगायतले वित्तीय सेवा आदान-प्रदानका कार्य अनलाइन माध्यमबाट गरिरहेका छन् । २०१८ को तथ्यांक हेर्ने हो भने विश्व व्यापारको १० प्रतिशतभन्दा बढी व्यापार त अनलाइनबाट नै हुने गरेको देखाउँछ ।
नेपालको सन्दर्भमा, विद्युतीय वित्तीय सेवाहरुको विस्तार संगै यसप्रति आम जनमानसमा आकर्षण विस्तारै बढ्दै गैरहेको देखिएको छ । ई–सेवा, खल्ती, आई.एम.ई.पे., कनेक्ट आई.पी.एस. निजी बैंकहरु आदि विद्युतीय वित्तीय सेवा प्रदायकका रूपमा अगाडि आएका छन् । धेरै नेपालीका हातमा अहिले स्मार्ट फोन छ । निजी बैंकमा खाता हुनेहरुले अहिले कुनै न कुनै तरीकाले विद्युतीय वित्तीय सेवा लिने क्रम बढेको छ । फलस्वरूप यस क्षेत्रमा पनि प्रतिष्पर्धा बढ्दै गएको छ । विश्वमा जुन हिसाबले दैनिक १० लाखको हाराहारीमा इन्टरनेट प्रयोगकर्ताहरु थपिंदै छन्, त्यसैगरी नेपालमा पनि बढ्ने क्रम छ ।
नेपालीहरु सामाजिक संजालमा अत्यधिक सक्रिय रहेको अवस्था पनि छ । यस्ता संजालले ई-कमर्स र विद्युतीय वित्तीय सेवालाई थप टेवा दिएका छन् । अहिले नेपालीहरु मुख्यतः मोबाइल फोनको रिचार्ज गर्न, विमान टिकट काट्न, विद्युत, खानेपानीको महसूल तिर्न, टीभीको रिचार्ज गर्न, फिलिमका टिकट काट्न, होटल बुक गर्न, विद्यालयको शुल्क तिर्न, एक खाताबाट अर्को खातामा पैसा पठाउन, अनलाइन सपिङ्ग गर्नजस्ता कार्यमा मोबाइल वालेट प्रयोग गर्ने गरेका छन् । तथापि नेपालमा विद्युतीय वित्तीय सेवाहरुको प्रयोग थप बढाउन आवश्यक छ । अनुकूल वातावरण, अनुकूल कानूनी प्रावधान, यसबारे सचेतना अभिवृद्धि, सूचना संचार प्रविधि पूर्वाधारको बढोत्तरी, तीव्र इन्टरनेट सेवाजस्ता विषयमा ध्यान दिनु पनि जरुरी छ ।
नेपालको भौगोलिक विकटता जसले गर्दा दूरदराजसम्म बैंक पुग्न सकेका छैनन्, त्यहाँ सहजै विद्युतीय सेवा पुग्न सक्छन् । यो विद्युतीय वित्तीय सेवाले धेरै मानिस वित्तीय सेवाको परिधिभित्र समेट्न सकिन्छ । सेवा छिटो प्राप्त हुन्छ, गुणस्तरीयसमेत हुन्छ । विद्युतीय सेवा सस्तो पनि पर्छ । मानिसको श्रम र समय पनि जोगिन्छ । यी लगायत थुप्रै फाइदा भएकोले आगामी दिनमा नेपालमा यसको राम्रो भविष्य देखिन्छ । केही चुनौती पनि छन् । हाम्रा संचार पूर्वाधार कमजोर अवस्थामा छन्, यी सेवाको फाइदाबारे नागरिकमा पर्याप्त चेतना अझै आइसकेको छैन । विद्युतीय सेवामाथि नै पूर्ण भरपर्ने गरी विकास भैसकेको छैन । कुशल जनशक्ति नेपालमा नै थामेर सरकारी नीतिहरु पनि यस्ता सेवाका लागि अनुकूल बनाउंदै लग्न सकिएमा विद्युतीय वित्तीय सेवाहरुले विस्तार हुने मौका पाउनेछन् ।
