प्रधानमन्त्री रोजगार कार्यक्रमले सय दिनको रोजगारी दिँदै

काठमाडौं, ४ कार्तिक– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्ष ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेरोजगारहरुलाई पुस महिनाबाट सय दिनको लागि रोजगारी दिने तयारी गरेको छ । गत वर्ष आर्थिक वर्षको अन्तिममा हतार हतार कार्यक्रम गरिएको भन्दै व्यापक विरोध भएपछि यस वर्ष नीतिगत सुधार गर्दै पुसबाट नै प्रधानमन्त्री रोजगार कार्यक्रम चलाउन लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।
स्वदेश भित्र रोजगारीका पर्याप्त अवसरहरुको सिर्जना र कामलाई सम्मान गर्ने संस्कृतिको विकास गरी रोजगारीका लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गत वर्षबाट प्रधानमन्त्री रोजगार कार्यक्रम चलाएको थियो ।
गत वर्ष १ लाख ७५ हजार ९०९ जनाले औसत १३ दिन रोजगारी पाएको थियो तर यस पटक सय दिनको नै रोजगारी दिइने भएको छ । पुसबाट नै कार्यक्रम शुरु गरीने हुँदा छ महिनासम्म काम गर्न सकिने हुनाले पनि यसपटक बेरोजगारीहरुले न्युनतम १ सय दिनको रोजगारी पाउने छन् ।
स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र मार्फत हालसम्म १७ लाखले बेरोजगार सुचिमा नाम दर्ता गरेका छन् ।
सडक, खानेपानी, ढल व्यवस्थापन, सिंचाईं, ऊर्जा, सहरी विकास, शिक्षा, स्वास्थ्य, पूनर्निर्माण, पर्यटन, वन, सामुदायिक पूर्वाधार, कृषि तथा सहकारी, सूचना प्रविधि, वातावरण संरक्षण तथा जलवायु अनुकुलन लगायतका क्षेत्रहरुमा रोजगारी दिनेगरी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो । यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्ब १ करोड भन्दा बढी रकम छुट्याईएको छ ।
